सगरमाथा क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध

काठमाडौँ– खुम्बु पासाङल्हामु गाउँपालिकाले प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाउने भएको छ। वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आगामी अग्रेजी नयाँ वर्ष(२०२० जनवरी १)बाट प्लाष्टिक झोला र बोतलकाे प्रयोगमा प्रतिबन्द लगाउने निर्णय गरेको हो।

हाकाहाकीकर्मीसँग कुरा गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले ३० माइक्रोन भन्दा कमको सम्पूर्ण प्लाष्टिकको प्रयोगलाई निषेध गर्न लागिएको बताए।

उनका अनुसार खुम्बु क्षेत्रभित्र ३० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिएको छ। गाउँपालिकाले तोकेको समयभन्दा अगाडि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ।

‘सुरुवाती चरणमा स्थानीयलाई प्रति परिवार ५ किसिमका वातावरणमैत्री झोला वितरण गर्दै छौँ,’ उनले भने। प्लाष्टिकले वातावरणमा असर गरेको कारण त्यसको सट्टामा प्रत्येक परिवारमा झोला वितरण गर्न लागेको उनको भनाई छ।

पर्यटकीय स्थल भएकोले पर्यटकहरूको अत्याधिक चाप हुने क्षेत्रको रुपमा सोलुखुम्बुलाई लिने गरिन्छ। सोही कारण प्लाष्टिक निषेध गर्ने कुरामा चुनौती आएपनि पछाडि नहट्ने र कार्यान्वयन गरेरै छाड्ने घिमिरेले बताए।

जनवरी आउन अझै समय भएकोले पर्यटन व्यवसायी, हेलिकप्टर व्यवसायी लगायतका अन्य विभिन्न व्यवसायीबाट पनि प्लाष्टिक मुक्त अवधारणाको लागि योजना बनाइरहेको उनले बताए।

उक्त गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल रहेका छन्। यही हिमालका कारण यस गाउँपालिकामा वर्षेनी ५० हजारभन्दा बढी पर्यटक खुम्बु आउने गर्छन। विश्व सम्पदा सूचीमा रहेको सगरमाथासमेत रहेको सो गाउँपालिका पर्यटकीय हिसाबले अति महत्वपूर्ण मानिन्छ। यस क्षेत्रमा हुने हरेक क्रियाकलाप पर्यावरणमा असर नपर्ने खालको हुनुपर्ने सरोकारवालको सुझाव छ।

ताजा समाचार

सम्बन्धित समाचार