काठमाडौँ– ‘चुरे बचाउन हामी सबै एकजुट’ भन्ने नारासहित चुरे मधेस विकास मञ्चले चुरेको संरक्षणको माग गर्दै काठमाडौँमा एक र्यालीको आयोजना गरेको छ।
सोमबार काठमाडौँको माइतीघरमा चुरे बचाउ र्याली निकालेर चुरेको संरक्षणको माग गरिएको हो।
चुरे दोहनका कारण तराइले समना गरिरहेको समस्याहरूलाई संघीय सरकारको ध्यानआकर्षण गर्ने उद्देश्यसहित मञ्च प्रदर्शनमा उत्रिएको हो।
अत्याधिक चुरेको दोहन, नदीजन्य पदार्थको उत्खनन र वन फाँडनीका कारण पर्यावरणीय महत्वको क्षेत्रलाई कमजोर पारिरहकेको र तराईका मानिसहरूमा प्रतिकूल असर परेको प्रदर्शनमा सहभागि भएकाहरूको भनाइ थियो।
साथै, प्रदर्शनमा निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने सरकारी तयारीको विरोध गरिएको थियो। २४ लाख रुख काट्नुको जायज कारण कुनै पनि हालतमा पुष्टि हुन नसक्ने उल्लेख गरिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा सहभागीहरूले ‘एउटा बिरुवा नरोप्नेले २४ लाख रुख काट्ने’, ‘हरियो वन कसको धन?’, ‘पैसाको हात्ति बचाउन जङ्गलको हात्ति सक्काउने’, ‘चिलगाडी भन्दा चिल प्यारो, एयरपोर्ट भन्दा रुख राम्रो’ लेखिएका प्ले–कार्ड बोकेका थिए ।





