कैलाली–सुदूरपश्चिम प्रदेशकाे ६ जिल्लामा अलैँची खेती विस्तार गरिएको छ। सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेशका कैलाली, बैतडी, बाजुरा, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा गरी २५ हेक्टर जमिनमा अलैँची खेतीको विस्तार गरिएको हो।
मन्त्रालयले गत आर्थिक वर्ष २०७५/०७६ मा ६० हजार बढी अलैँचीका बिरुवाहरू वितरण गरेको बताएको छ। जसका लागि २५ लाख रुपैयाँ बजेट खर्च भएको मन्त्रालयका सूचना अधिकारी डा. विश्वेश्वर प्रसाद खनालले बताए।
सुदूरपश्चिम प्रदेशमा कति हेक्टरमा अलैँची खेती भइरहेको छ भन्ने तथ्याङ्क नभएको उनले बताए। नेपालमा अलैँची १३ हजार १९२ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ।
यो मसला तथा घरेलु औषधीको रूपमा प्रयोग गरिन्छ। यो वनस्पति कुनै पनि भिरालो परेको जमिन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ। खेर गएको अलैँचीलाई पुनः लगाएर सदुपयोग गर्न सकिन्छ। साथै जमिनलाई भू–क्षय हुनबाट पनि बचाउँछ। नेपालमा सबैभन्दा बढी अलैँची खेती ताप्लेजुङ, संखुवासभा र इलाममा गरिन्छ।





