काठमाडौँ– साउन महिना सकिँदा पनि देशभर धान रोपाइँ भने सकिएको छैन्। हालसम्म देशभर जम्मा ९४ दशमलव ४३ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता प्रदिपचन्द्र भट्टराईका अनुसार भदौको पहिलो सातासम्म धान रोपाईँ हुने भएकोले अबको केही दिनमा सकिने छ।
कुन प्रदेशमा कति ?
प्रदेश अनुसार रोपाईँको प्रगति हेर्दा सबैभन्दा पहिले सुदूर पश्चिम प्रदेशमा सतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ९३ दशमलव ४९ प्रतिशत, प्रदेश २ मा ९३ दशमलव ३१ प्रतिशत, प्रदेश ३ मा ९६ दशमलव ९५ प्रतिशत, गण्डकी प्रदेशमा ८८ दशमलव ९२ प्रतिशत, प्रदेश ५ मा ९४ दशमलव ३९ प्रतिशत र कर्णाली प्रदेशमा ९६ दशमलव १६ प्रतिशत रोपाईँ सम्पन्न भएको छ।
भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्था
भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्थालाई हेर्दा अहिलेसम्म सबैभन्दा बढी उच्च पहाडी क्षेत्रमा ९७ दशमलव ९३ प्रतिशत सम्पन्न भएकोमा सबैभन्दा कम मध्य पहाडमा ९१ दशमलव ९५ प्रतिशत सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
तराई क्षेत्रमा भने ढिलोसम्म रोपाइँ हुने भएकोले सुरुवाती चरणमा मनसुनले प्रभाव पारेपनि अहिले भने केही हदसम्म सकरात्मक प्रगति देखिएको छ । तराईमा ९५.१३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।





