महाकाली पानीको बहाब बढ्यो, शारदा ब्यारेजमा ठूला सवारीलाई रोक

महेन्द्रनगर – महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजको पुलमा ४ पाङग्रे सवारी साधनको दुवैतर्फको आवागमन रोकिएको छ। नदीमा पानीको बहावले खतराको चिह्न नाघेपछि भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउँदै ४ पाङग्रे सवारी साधन आवागमनमा रोक लगाएको हो।

पहाडी क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ३२ हजार ५ सय १० क्यूसेक पुगेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका असई तुलाराज गिरीले बताए। उनका अनुसार महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले बिहान ६ बजेदेखि ४ पाङग्रे्रे सवारी साधनको अवागमन बन्द गरेको हो। नदीमा पानीको बहाव घटिरहेकाले १२ बजेसम्म चार पाङग्रे सवारी साधन सञ्चालनमा आउने उनको भनाइ छ।

उनका अनुसार महाकाली नदीमा १ लाख प्रतिसेकेन्ड क्युसेक पानी समान्य मानिएपनि पुलको अवस्थाका कारण त्यो भन्दा माथि गए आवागमन ठप्प गरिन्छ। महाकाली पूल पुरानो भएकाले पानीको वहाव बढेसँगै पुलको आवागमन भारतीय पक्षले रोक्दै आएको छ। महाकाली नदीमा रहेको दुवैतर्फको स्वामित्व भारतकै नियन्त्रणमा छ। पुलमा पैदल यात्री, मोरटसाइकललाई गुड्न दिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार