काठमाडौँ – नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्ज’ सम्मानित भएको छ।
तामाङ पत्रकार सङ्घले आफ्नो ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा आइतबार रेडियो सगरमाथा सहित अन्य तीन प्रसारक संस्थालाई सम्मान गरेको हो।
तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण गरी तामाङ भाषा संरक्षण, सम्वद्र्धन र सूचना प्रचार/प्रसारमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै रेडियो सगरमाथा लगायत रेडियो नेपाल र मेट्रो एफएमलाई सम्मान गरिएको आयोजकको भनाइ छ।
विसं २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण शुरु भएको थियो। सोही दिनलाई आधार मानेर तामाङ पत्रकार सङ्घले संस्थागत रुपमा तामाङ प्रसारण दिवस मनाउँदै आइरहेको छ। कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले भाषाको विकासको लागि राज्यले बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बाेल्दै नेफेजका कार्यकारी निर्देशक सुबोध गौतमले तामाङ पत्रकार सङ्घले संस्थागत रुपमा आफ्नो संस्था(रेडियाे सगरमाथा)लाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा ‘तामाङ काइ’ लगायत मातृभाषाका कार्यक्रमलाई प्राथमिकताका साथ स्थान दिने बताए।





