यातायात व्यवस्था विभागमा सहायता कक्ष सञ्चालन

काठमाडौँ– चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरु गरेको छ ।

चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा शुरु गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार दुई दिनपहिले शुरु भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा सम्पूर्ण जानकारी दिइनेछ ।

सेवाग्राहीले अनुमतिपत्र छापियो वा छापिएन वा छापिएका अनुमतिपत्रमा पनि कुनै खालका समस्या आउँदा कोठाकोठामा पुगेर बुझ्न जान नपर्ने उनको भनाइ छ । अहिले सहायता कक्षले चालक अनुमतिपत्रसँग सम्बन्धित मात्रै जानकारी दिने भए पनि आगामी दिनमा यसको क्षेत्र विस्तार गर्दै जाने विभागको योजना रहेको सिंहले जानकारी दिए। सेवाग्राहीले आइतबारदेखि बिहीबारसम्म बिहान १०ः१५ देखि ४ः४५ सम्म र शुक्रबार २ः४५ बजेसम्म कार्यालयमा आएर वा फोन सम्पर्क गरेर अनुमतिपत्रबारे जानकारी लिन सक्ने बताइएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट सङ्कलन भएका आवेदनबाट विभागले चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ । सम्बन्धित कार्यालयले नै चालक अनुमतिपत्र वितरण गरिरहे पनि समस्या आउँदा उनीहरुलाई विभागमा पठाउने गरेका छन् । गत वर्ष नै यातायात व्यवस्था कार्यालयहरु प्रदेशमा हस्तान्तरण भए पनि देशभरका चालक अनुमतिपत्र छपाइ विभागले नै गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार