बालगोपालेश्वर शिखर शैलीमा पुनःनिर्माण

काठमाडौँ– रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ ।

गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए/तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो ।

मन्दिर पुनःनिर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको ‘कङ्क्रिटको टाइबिम’ फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ‘प्यासेज’ पुनःनिर्माण थालिएको हो ।

रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । सीए/तुलसी कन्स्ट्रक्सन जेभीका इञ्जिनीयर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको जानकारी दिए।

क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनःनिर्माण गरिने उनले बताए। कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रुपमा अघि बढाइनेछ । रानीपोखरी पुनःनिर्माण अनुगमनको नेतृत्व गरिरहनु भएका प्राधिकरणका सहसचिव एवम सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माण गर्नेछ ।

उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ । दक्षिण र उत्तरको एकतिहाई भागमा पर्खाल लगाउने क्रम जारी छ । पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ ।

भक्तपुरका दक्ष कालिगढद्वारा पोखरीमा पानी अड्याउन कालो माटो राख्ने काम भइरहेको छ । प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढको सङ्ख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार