बाँकेमा मकै खेतीमा कृषकको संलग्नता बढ्दो

बाँके– बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए।

हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिए। तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका झण्डै दुई हजारभन्दा बढी कृषक आबद्ध भएका छन्।

परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग गरिँदै आएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको सात वडा तथा डुडुवा गाउँपालिकाको चार वडालाई परियोजनाभित्र समेटिएको छ। परियोजना कार्यक्रमअन्तर्गत जिल्लाका कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा गत आर्थिक वर्षदेखि बर्खे मकै खेतीका लागि पनि कृषक समूह छनोट गरिएको छ।

बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रमअन्तर्गत गत आवसम्म कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग गरिँदै आएकामा चालू आवदेखि सबै विषयमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ। परियोजनाका प्राविधिकले कृषकलाई मकैखेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आएका छन्।

गत वर्षको अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नम्बर २२ पुरैनीस्थित मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत सामग्री उपलब्ध गराइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा छ। जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार