पोखरा– पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो। गाउँमा न बिजुली थियो न सडक नै। सदरमुकाम दमौली आउनुपरेको खण्डमा घुमाउनेमा रहेको झोलुङ्गेपुल तरेर चितवन हुँदै दमौली आउनुपर्ने बाध्यता पनि उत्तिकै।
सदरमुकामबाट नजिकै रहेर पनि तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाट बत्तीमुनिको अँध्यारो जस्तै थियो। स्थानीयवासी लालबहादुर राना केही वर्षअघिको सम्झना गर्दै भन्छन्, ‘गाउँमा न बिजुली थियो न सडक नै। जसले गर्दा स्थानीयवासीको दैनिक नै फरक थियो । अहिले सडक र बत्ती आएसँगै जीवनस्तर बदलिन थालेको छ।’
भनाइ नै छ, विकासको पहिलो पूर्वाधार भनेकै सडक हो। लालबहादुर रानालाई समेत सडकले गर्दा आफ्नो ठाउँ विकासको गतिमा हिँडेको अनुभूति भएको छ। सडक पुगेपछि विकासका सबै पूर्वाधार पनि सँगसँगै पुग्छ । यो भनाइलाई दमौलीबाट चितवनको घुमाउने जोड्ने बुद्धसिंह मार्गले पुष्टि गरेको छ। केही वर्षअघिसम्म बुद्धसिंह मार्गको किनारका बस्ती उजाड थिए तर अहिले उक्त बस्तीमा व्यापारिक चहलपहल बढेको छ। यसको मुख्य कारण भनेकै बुद्धसिंह मार्गमा यातायात सञ्चालन हुनु हो।
पोखरा र दमौलीलाई नारायणगढ जोड्ने वैकल्पिक सडकका रुपमा विस्तार गरिएको बुद्धसिंह मार्गमा यातायात सञ्चालन शुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्ती अहिले बजार बनेका छन्। यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो। सदरमुकाम दमौली मात्र नभई बन्दीपुर, पोखरा र नारायणगढबाट समेत यहाँ घडेरी किन्न मान्छे आउन थालेको होटल व्यवसायीसमेत रहनुभएका राना बताउछन्।
सडक किनाराका अधिकांश जग्गा अहिले साना घडेरीमा परिणत भएका छन्। सेतीमादी नदीको किनारको अवस्थित यस ठाउँमा दुई वर्षअघि रोपनीको ८/१० लाख पर्ने जग्गाको भाउ अहिले रोपनीको रु ५० लाख पुगेको छ।
बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक छ/सात वटा बस र त्यत्तिकै सङ्ख्यामा जीप चल्ने गर्छन्। उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका वडा नं ६ को घुमाउनेसम्म पुगेर पुनःदमौलीतर्फ नै फर्कन्छन्। घुमाउनेमा मोटरेवल पुल निर्माण नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने डोहो-याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ।
सडकको विस्तारसँगै सराङघाटमा होटल, किराना पसल र फेन्सी पसल सञ्चालनमा आएका छन् । गत महीना मात्रै उक्त स्थानमा विद्युत् सेवासमेत विस्तार भएको छ। विद्युत् सेवा पुगेसँगै विद्युतीय उपकरणका पसल पनि सञ्चालनमा आएको स्थानीयवासी भीमबहादुर गुरुङ बताउछन्। उनका अनुसार सराङघाटमा अहिले भौतिक निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ। आरसिसी पक्की घर बन्नेक्रम शुरु भएको छ।
यातायातको सहजताले सामान खरीदका लागि सजिलो भएको गुरुङ बताउछन्। सामान खरीदका लागि यहाँका व्यवसायी सदरमुकाम दमौली आउने भए पनि उच्च शिक्षा अध्ययन र औषधि उपचारका लागि भने चितवनको नारायणगढ र भरतपुर जाने गर्छन्। अहिले सराङघाटबाट दमौली आउन र नारायणगढ जान एक घण्टामा सजिलै पुग्न सकिने गुरुङले बताए।
बुद्धसिंह मार्ग हुँदै नारायणगढ जान हाल भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा करीब २३ किमी छोटो पर्छ । दमौलीबाट मुग्लिङसम्म ४१ किमी र मुग्लिङबाट घुमाउनेसम्म थप १४ किमी दूरी पर्छ। तर बुद्धसिंह मार्गबाट घुमाउनेसम्म ३२ किमी दूरी पर्छ।
अहिले घुमाउनेमा मोटरेवल पुल नहुँदा यात्रु तनहुँको क्षेत्रमै झरेर झोलुङ्गे पुल तरी मुग्लिङ नारायणगढ सडकमा गई त्यहाँबाट अर्को गाडीमा चढ्नुपर्ने बाध्यतामा छन् । घुमाउनेमा मोटरेवल पुल निर्माणको लागि टेन्डर भइसकेपनि केही प्राविधिक पक्षका कारण पुल निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले बताए।
उनका अनुसार बुद्धसिंह मार्गको स्तरोन्नतिका लागि बहुवर्षीय योजनाअन्तर्गत १० करोड विनियोजन भएको हुँदा अब पुल निर्माण र सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि सँगसँगै अगाडि बढाइनेछ।
पुल निर्माण सम्पन्न भएपछि सराङघाटलगायत बुद्धसिंह मार्गमा पर्ने साना बजार लाब्दी खोला, नाल्दी, मास्दीघाट, खहरे, हात्तीसोढे र कोइदिमको रुप नै फेरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए। मोटरेवल पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने भन्दै उनले यस कार्यमा जिल्लाका सबै जनप्रतिनिधिले ध्यानाकर्षण गराउनुपर्ने बताए। कृष्ण न्यौपाने/रासस





