सुर्खेत– यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन्।
तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन्।
पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ निवासी हरिगोपाल चौलागाईंले जानकारी दिए।
बाढीले तीन दशकअघि निर्माण भएको काठेपुल बगाएको थियो । पुल बगाएपछि साविकको लाम्रा र हाँकु गाविसको सम्बन्ध टुटेको थियो।
‘पुल बग्यो, हाम्रो आवतजावतको दैनिकी बन्द भयो’, चौलागाईंले भने, ‘कसैसँग माग्नु र भर पर्नुभन्दा हामी आफैँ गर्न सक्छौँ भनेर दुवै गाउँवासी जुट्यौँ।’ आखिर जोखिम मोलेर भए पनि दुवै गाउँवासीको सामूहिक प्रयासले पुल निर्माण गरी आवागमन सञ्चालन गरेरै छोडिएको उनले बताए।
तत्काल भू–संरक्षण तथा जलाधार कार्यालय जुम्लाले तटबन्धका लागि भनेर जाली सहयोग गरेको उनको भनाइ थियो। यता नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि काठको साँघु निर्माणका लागि भौतिक सहयोग गरेको बताए।
पैसाले मात्र विकास हुन्छ भन्ने कुरा भ्रम रहेछ भन्दै केन्द्रीय सदस्य चौलागाईं भने, ‘इच्छाशक्ति र साझा प्रतिबद्धता अभ्यासमा उतार्दा जस्तोसुकै काम सजिलै हुन सक्दा रहेछन् भन्ने उदाहरण यो कामले देखाएको छ। यसले यहाँको समुदायको सान र स्वाभिमान दुवै उँचो बनाएको छ।’ उनका अनुसार स्थानीयवासीले छ लाख ४७ हजारको श्रमदान गरेका छन्।
स्थानीय कमला कामीले पुल निर्माणले खुशी लागेको बताए।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले यो सामूहिक कामले विगतको ऐतिहासिक घटनाको याद दिलाएको बताए। आफ्नो गाउँ, समाज आफैँले निर्माण गर्न सकिन्छ र गर्नेहरुले कसैबाट पाउने आसले मर्नुपर्दैन भन्ने देखिएको छ।रासस





