बैतडी– बाढीपहिराले खानेपानी वितरण गरिने पाइप बगाउँदा बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पिउने पानीको समस्या भएको छ।
पानी वितरण गर्ने पाइप लाइन र मुहान पहिराले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको हो। खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन्।
‘खोलाको धमिलो पानी पिउनुपरेको छ’, स्थानीयवासी प्रेम बोहराले भने, ‘बाढीपहिराले पानीको मुहान बगाएकाले पानीसमेत खान पाइएको छैन ।’शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले पहिरोपीडितलाई सताएको उनको भनाइ छ।
‘पहिराले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको हो’, स्थानीय भानबहादुर बोहराले भने, ‘आधा घण्टाको दूरीमा रहेको खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता छ। खोलाबाट ल्याएको पानी पिउनाले गाउँमा विभिन्न रोगको जोखिमसमेत बढ्दै गएको छ।’
पहिराले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पु¥याएका छन् । पहिराले करिब १० वटा पानी घट्टको कुलो बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन्। रासस





