केरला– गत वर्ष भीषण बाढीको सामना गरेको केरला यस वर्ष पनि विनाशको चपेटामा परेको छ।
उत्तरी केरलाको कोझीकोड, वायनाड, मलाप्पुरम जस्ता क्षेत्रहरू बढी प्रभावित भएका छन्। बाढीपहिरोमा परि सोमबार मध्यानसम्म ७६ जनाको मृत्यु भएको बताइएको छ।

जिल्ला कन्ट्रोल रूमका अनुसार बढी मृत्यु पहिरोका कारण भएका हुन्। केरलाका मुख्यमन्त्री पिनाराई विजयनमा अनुसार पछिल्ला दुई दिनमा आठ जिल्लाबाट पहिरोको ८० रिपोर्ट प्राप्त भएको छ।
पहिरोको ठूला घटनाहरू मलप्पुरम, कवलप्परा, मेप्पाडी र वायनाडमा भएका छन्। केन्द्रीय सेना, राज्य पुलिस, दमकल र स्वयंसेवकहरू उद्धार कार्यमा व्यस्त रहेको बीबीसीले जनाएको छ।

बाढीपहिरोबाट करिब ४६ हजार ४ सय परिवारका एक लाख भन्दा बढी मानिस प्रभावित भएका छन्। उनीहरूलाई शिविरमा राखिएको बताइएको छ।
केरलाका नौ जिल्लाहरू रेड अलर्टमा छन्। भारतीय मौसम विज्ञान विभागले आउँदो दुई दिनमा उक्त क्षेत्रमा भारी वर्षा हुने बताएको छ।





