काठमाडौँ– बाढीपहिरोले देशभर ४५ पुलमा क्षति पुगेको छ।
आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो जानकारी गराएका हुन्।
वर्षाले सबभन्दा बढी सडक डिभिजन कार्यालय नेपालगन्ज अन्तर्गतका पुलमा क्षति पु-याएको मन्त्री महासेठले बताए। यस कार्यालय अन्तर्गत पर्ने क्षतिग्रस्त पुल मर्मत गर्न कम्तीमा तीन करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार मन्त्रालयले अहिलेसम्म क्षतिग्रस्त ४५ पुलको मर्मत गर्न ४७ करोड ३४ लाख रुपैयाँ आवश्यक पर्ने जनाएको छ। बैठकपछि समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।
समितिकी सभापति कल्याणी खड्काले दसैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पु¥याएका संरचना तत्काल मर्मत गर्ने मन्त्रालयलाई निर्देशन दिइन्।
समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलको जीर्णोद्धार तथा मर्मतको काम कसले गर्ने भन्नेबारे अन्योल पनि अन्त्य गर्न भनिएको छ। बाढीपहिरोले क्षति पु-याएका पुल र सडकको मर्मत नहुँदा सर्वसाधारणलाई हिँड्डुलमा समस्या भइरहेको छ।
क्षतिग्रस्त पुलको विवरण
स्थान क्षतिग्रस्त पुल संख्या अनुमानित खर्च
सडक डिभिजन नेपालगन्ज ३ तीन करोड
सडक डिभिजन विराटनगर ३ दुई करोड २५ लाख
सडक डिभिजन जनकपुर ५ दुई करोड ९० लाख
सडक डिभिजन लहान ६ एक करोड
उत्तर–दक्षिण व्यापारिक मार्ग १ ५० लाख
सडक डिभिजन हेटौंडा ३ दुई करोड १० लाख
सडक डिभिजन खुर्कोट ५ ४७ लाख रुपैयाँ
मध्यपहाडी लोकमार्ग आयोजना २ एक करोड २० लाख
सडक डिभिजन झापा ७ दुई करोड २५ लाख
सडक डिभिजन दमौली १ एक करोड ३५ लाख
सडक परिक्रमा मार्ग जनकपुर १ दुई करोड ५० लाख
सडक डिभिजन चन्द्रनिगाहपुर १ १४ लाख
हुलाकी राजमार्ग जनकपुर ७ दुई करोड ५० लाख
बाढी, पहिरोले संघ, प्रदेश र स्थानीय तह मातहत राखिएका पुललाई क्षति पुयाए पनि प्रदेश र स्थानीय तह मातहतको विवरण भने प्राप्त भएको छैन।
मन्त्रालयले सम्पूर्ण क्षतिको विवरण संकलन हुने क्रम अझै जारी राखेको छ। वर्षा हुने क्रम जारी रहेकाले सडक र पुलमा हुने क्षति बढ्न सक्ने अनुमान गरिएको छ।





