काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा काँडेतारले जैविक मार्ग अवरुद्ध भन्ने शीर्षकमा दिलबहादुर छत्यालरपुष्पराज जोशीको समाचार छापिएको छ। भारतीय पक्षले कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा एकलौटी रूपमा अग्लो ट्रेन्च खनेर त्यसमाथि काँडे तारबार गरेको छ। स्थानीयको विरोध हुँदाहुँदै भारतीय पक्षले कैलालीको गौरीफन्टा नाका तथा कैलारी गाउँपालिकामा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजार क्षेत्रमा तीन किलोमिटर खण्डमा ट्रेन्च (गहिरो खाडल खनेर छेउमा थुपारी बनाइएको माटोको ढिस्को) बनाएर त्यसमाथि काँडेतार लगाएको हो। नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध भएको छ भने माटोको ढिस्कोका कारण नेपाली भूभाग डुबानमा परेका छन्।
-कालोसूची प्रकरणले मेलम्चीलाई अर्को झड्का भन्ने शीर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकरणका कारण ठेक्काको बाँकी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ।
-पहिरोले सात घर जोखिममा भन्ने शीर्षकमा समाचार छापिएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका–४ नामशरण टोलका सात घर पहिरोको जोखिममा परेका छन्। अविरल वर्षाका कारण बस्तीमुनि पहिरो गएपछि श्यामबहादुर पाख्रेन, कीर्तिमान पाख्रेन, चन्द्रबहादुर पाख्रेन, मनकुमारी थिङ, बिपीलाल ग्लान, बुद्धिमान पाख्रेन र मंगले पाख्रेनका घर जोखिममा परेका हुन्।
-ह्वासिनको जग्गा सम्झौता तोड्न निर्देशन भन्ने शीर्षकमा दिलिप पौडेलको समाचार छापिएको छ। चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योगलाई स्थानीय तहले उपलब्ध गराएको जग्गाको सम्झौता तोड्न संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा १५ वर्षपछि बन्यो सडक भन्ने शीर्षकमा राजेन्द्र कार्कीको समाचार छापिएको छ। विश्व बैंकले जिम्मा लिएको छिन्चु–जाजरकोट सडक निर्माण कार्य द्रुतगतिमा भइरहेको थियो। तर तत्कालीन विद्रोही माओवादीले २०५४ सालमा सडक निर्माणको क्रममा ब्लाष्टिङ गर्न आवश्यक विष्फोटक पदार्थ लुटेर लिएपछि विश्वबैंकले असुरक्षाको कारण देखाउँदै ठेक्का सम्झौता तोड्यो। लामो समय सडक निर्माण अलपत्र परेपछि जाजरकोट राष्ट्रिय सडक सञ्जालमासमेत जोडिन सकेन।
-लामो रुटमा हुँदैनन् दुई चालक भन्ने शीर्षकमा मनीष दुवाडीको समाचार छापिएको छ। नियमबमोजिम रात्री तथा लामो रुटका बसमा दुई चालक हुनुपर्छ। तर एक जना चालकले मात्र चलाउने गरेको पाइएको छ। नियमपालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। एक जनाले मात्र गाडी चलाउँदा थाक्ने, निदाउनेजस्ता कारणले दुर्घटना बढ्न थालेपछि सरकारले दुई चालक हुनैपर्ने नियम बनाएको थियो।





