ललितपुर– काठमाडौँ महानगरले धुलो तथा फोहोर सफा गर्न ब्रुमर तथा जेट मेशिन सञ्चालन गरेको एक वर्षपछि ललितपुर महानगरले पनि दुई वटा ब्रुमर सञ्चालनमा ल्याएको छ।
ब्रुमर तथा जेट मेशिनले काठमाडौँ महानगर भित्रको मात्र धुलो सफा गर्ने भएपछि ललितपुरको सडक तथा फुटपाथ बढार्न पहिलो चरणमा दुई वटा ब्रुमर ल्याइएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
काठमाडौँ महानगरले ७ वटा ब्रुमर र नौ वटा जेट मेशिनले सफा गर्दा समेत कम नभएको धुलो ललितपुरका दुई ब्रुमरले सफा गर्नेमा विस्वस्थ हुन नसकिने सर्वसाधारणको भनाइ छ।
तर, ललितपुर महानगरका प्रवक्ता महर्जन भने २ वटा ब्रुमरले ठूलाे मात्रामा धुलो कम गर्ने बताउँछन्। दुई वटा ब्रुमरले सतप्रतिशत नै कम गर्न नसके पनि ७० प्रतिशत धुलो भने कम हुने उनको दाबी छ।
‘धुलो उड्दै उड्दैन त हामी भन्दैनौं,’ उनले भने, ‘अहिलेको भन्दा धेरै कम हुन्छ भन्नेमा महानगर ढुक्क छ।’ धुलो बढार्ने भन्दा पनि त्यसकाे श्रोत पत्ता लगाइ त्यसलाई न्यूनीकरण गर्नुपर्ने उनको धारणा छ।
पछिल्लो समय सडक निर्माण, मेलम्ची खानेपानी आयोजना र ढलका कारणले अस्तव्यस्त बनेको सडकमा ब्रुमर चलाएर धुलो कम गर्न आफैँमा चुनौती रहेको उनले बताए।
धुलोमुक्त महानगर बनाउने अभियानमा रहेको ललितपुर महानगरपालिकाले गत शुक्रबारबाट दुईबाट ब्रुमर सञ्चालनमा ल्याएको हो।
यसअघि सडक विभागबाट अनुदान स्वरूप प्राप्त एउटा ब्रुमर कम क्षमताको र धुवाँ धेरै फाल्ने भएकाले सञ्चालन नगरिएको महर्जनले जनाए।
ललितपुर महानगरले टेण्डर प्रक्रियाद्वारा २ वटा बुम्रर खरिद गरेको हो। इटालियन युरो ४ मापदण्डका ब्रमुर खरिदका लागि महानगरले २०७५ मंसिर २७ गते बोलपत्र आव्हान गरेको थियो। सोही अनुरुप महानगरले जेनटेक प्राइभेट लिमिटेड कम्पनीसँग भ्याटसहित ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँमा उक्त ब्रुमर खरिद गरेकाे हाे।
डिजेलबाट चल्ने उक्त ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको प्रवक्ता महर्नज बताउँछन्।
ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र बीचमा १ गरी ४ बटा ब्रस र पछाडि एउटा भ्याकुम क्लिनर रहेको छ। यसको १ सय १० किलोवाट इन्जिन क्षमता छ।
ब्रुमर सञ्चालनका लागि जेनटेक प्रालिले महानगरका ५ जना प्रविधिकहरूलाई सात दिनको तालिम पनि दिएको थियो।
यी रुटमा चल्छन् ब्रुमर
ब्रुमरले कुपन्डोल, ज्वागलचोक, होटेल हिमालयन, नविल बैंक, हरिहर भवन, पुलचोक, जाउलाखेल, मानभवन, कुमारपाटीहुँदै लगनखेलसम्मको सडक बढार्ने छ। त्यसैगरी मंगलबजारदेखि गाबाहालसम्म ब्रुमरको दोस्रो रुट रहेको प्रवक्ता महर्जनले जानकारी दिए।
यी दुई बाहेक हाल महानगरसँग थप बु्रमर खरिदको योजना भने छैन। अहिले चालूभएका ब्रुमरको नतिजाले मात्रै थप खरिद गर्ने वा नगर्ने भन्न सकिने महर्जन बताउँछन्। ब्रुमरहरू बिहान ५ देखि ८ र बेलूका ६ वजे पछि ट्रफिक सहज हुने गरी सञ्चालन भइरहेको छ।





