काठमाडौँ– जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै नेपालको समृद्धिको आधार भएको बताएका छन्।
एआईटी एल्मुनाई एशोसिएसन अफ नेपालद्धारा शुक्रबार राजधानीमा आयोजित नेपालको ऊर्जा क्षेत्रलाई सर्वोत्तम अन्तर्राष्ट्रिय अभ्यास अगाडि लैजाने सम्बन्धमा आयोजना गरिएको एक दिवसीय गोष्ठीमा मन्त्री पुनले सो बताएका हुन्।
पूर्व अर्थमन्त्री समेत रहेका मन्त्री पुनले नेपाल व्यापार घाटाको महत्वपूर्ण अंश ऊर्जा आयातले ओगटेको बताए। गत आर्थिक वर्षमा मात्रै २३ अर्बको विद्युत आयात भएको उनले जानकारी दिए।

करिब २ खर्बको पेट्रेलियम पदार्थको आयात भएको भन्दै उनले भने, ‘विद्युत आयातलाई प्रतिस्थापन गर्न सकियो र यातायात क्षेत्रमा प्रयोग हुने पेट्रेलियमलाई विद्युतीय सवारी साघनको प्रयोग बढाएर घटाउन सकियो भने नेपालको अर्थ तन्त्र धेरै बलियो बन्नेछ ।’
उनले विगतका वर्षहरूमा नेपालमा खनिज तेलको आयातको बृद्धिदर १७ प्रतिशतसम्म पुगेको र विद्युतको भरपर्दो आपूर्ति भएपछि यसको बृद्धिदर घटेको जनाए।
मन्त्री पुनले ऊर्जा निर्यात आरम्भ भैसकेको बताउँदै भने, ‘अघिल्लो आर्थिक वर्ष हामीले ७ करोड जतिको निर्यात गरेका रहेछौ यो बर्ष यही सिजनमा मात्रै ५० करोड जतिको विक्री गरिसक्यौ ।’
उनले उर्जा क्षेत्रको विकासको लागि नीतिगत स्पष्टता आइसकेको र जलस्रोतको धनी भएकोले हाम्रो ऊर्जाको मूलधार जलविद्युत रहेको जनाए। साथै सरकारले वैकल्पिक धारलाई पनि संगै विकास गर्ने नीति ल्याएको जानकारी दिए।
सौर्य र वायु ऊर्जाबाट ५ देखि १० प्रतिशत, जलविद्युतमा पनि ३० देखि ३०प्रतिशत नदी प्रवाहमा आधारित, ३० प्रतिशत जलाशययुक्त नदी प्रवाह र २५ प्रतिशत जलाशययुक्त आयोजनाहरुको विकास गर्ने नीति,रणनीति, योजना र कार्यक्रम तयार भएर कार्यान्वयन थालिएको उनको भनाइ थियो। मन्त्री पुनले राजनीतिक स्थायित्व कायम भएकोले ऊर्जा विकासको क्षेत्रमा काम गर्ने अनुकूल वातावरण सिर्जना भएको पनि दाबी गरे ।

कार्यक्रमको उद्घाटन शत्रमा ऊर्जा सिंचाई र जलस्रोत मन्त्रालयका वरिष्ठ ईन्जिनियर सागर गौतमले ऊर्जा विकासमा सरकारको सोंच र कार्यशैली, प्राध्यापक राममनोहर श्रेष्ठले ऊर्जाको विकासमा लिएको गति र दिशा,एशियाली विकास बै.कका पूर्व उपाध्यक्ष डा.विन्दुनाथ लोहनीले ऊर्जा क्षेत्रको विकासका निमित्त उपलब्ध वित्तीय औजार र वित्तीय मोडलहरुको बारेमा प्रस्तुति दिएका थिए।
कार्यक्रमको दोस्रो शत्रमा इसिमोडका डा. अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तन र यसले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रको जलस्रोतमा पारेका प्रभावको बारेमा, डा. दिवस बस्न्यातले नेपालको जलस्रोतको क्षेत्रमा जलवायु परिवर्तन र अन्य अनिश्चितताको अनुकूलताका बारेमा कार्यपत्र प्रस्तुत गरे।
कार्यक्रमको तेस्रो शत्रमा इञ्जिनियर राधेश पन्तले आयोजनामा वित्तीय सहयोग र सरोकारवालाको प्रतिबद्धताको बारेमा, प्राध्यापक शोभाकर ढकालले भुटान,बंगालादेश,भारत र नेपाल(बीबीआईएन) क्षेत्रमा अन्तरदेशीय विद्युत व्यापारका विषय र अवसरका बारेमा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.ले क्षेत्रीय विद्युत व्यापारको लाभ अत्यधिकीकरण गर्ने नेपालको अवसर वर्तमान परिदृष्य र भावि सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुती भएको थियो ।

कार्यक्रमको समापन शत्रमा सामूहिक छलफल आयोजना(प्यानल डिस्कसन) गरिएको थियो, जसमा विद्युत नियमन आयोगका अध्यक्ष ई. डिल्लीबहादुर सिंह, विद्युत विकास विभाका महानिर्देशक मधुप्रसाद भेटुवाल,वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका उपाध्यक्ष कुमार पाण्डे,ऊर्जा विकास परिषद् नेपालका अध्यक्ष सुजित आचार्य र डोल्मा हिमालयन इनर्जिकाका कार्यकारी निर्देशक डा. सन्दीप शाहले जलविद्युत र वैकल्पिक ऊर्जाका सौर्य तथा वायु ऊर्जाको विकासका विविध पक्षमा प्रकाश पारे।
कार्यक्रममा जलविद्युतको विकासका साथसाथै शहरी र ग्रामीण क्षेत्रमा पनि सौर्यऊर्जाको विकास गर्न सकेमा आन्तरिक माग पूर्ति गर्न त्यसले सघाउने र छोटो अवधिमा धेरै ऊर्जा उपलब्ध भई बचेको ऊर्जा भारत र अन्य छिमेकी देशमा निर्यात गर्न सहयोग पुग्ने निष्कर्ष निकालिएको थियो ।

ऊर्जामा आफै आत्मनिर्भर बनी राष्ट्रिय विकासमा योगदान समेत पु¥याउन सहयोग गर्नका लागि प्रत्येक घरधनीलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउन पर्ने सुझाव विज्ञहरूले दिएका छन् ।
त्यस्तै नेपालमा सञ्चालिन सवारी साधनहरूलाई विद्युती सवारीमा रुपान्तरण गर्ने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीति अख्तियार गरेमा आगामी १० वर्षमा नेपालमा चल्ने मध्ये आधा सवारी साधनको संख्या विद्युतीय बनाएर पेट्रेलियम पदार्थको आयातमा गैरहेको ठूलो रकम जोगिएर राष्ट्रिय विकासमा लगाउन सकिने निष्कर्षसमेत निकालिएको छ।





