प्यूठान – खडेरीले पानीका मुहान सुक्दै जान थालेपछि प्यूठानको ऐरावती गाउँपालिकाले ४६ ओटा पुनर्भरण पोखरी अर्थात रिचार्ज पोखरीहरू निर्माण गरेको छ। पानीका मुहानहरू सुक्दा पानी खान तथा सिँचाइका लागि समेत अभाव हुन थालेपछि गाउँपालिकामा रहेका प्रत्येक सामुदायिक वनहरूमा एक एक ओटा अनिवार्य र उपभोक्ताहरूको जनसंख्याका आधारमा केही सामुदायिक वनमा दुई ओटासमेत रिचार्ज पोखरी खनेको ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए।
सामुदायिक वन उपभोक्ता महासंघ ऐरावतीसँगको सहकार्यमा सुख्खापन र मुहान सुक्ने समस्या समाधान गर्नका लागि स्थानीयहरूको जनश्रमदान र गाउँपालिकाले खाजा खर्च दिने सहमति भए पश्चात ५२ ओटा पोखरी खन्ने कार्य सुरु भएको हो। अहिलेसम्म ४६ ओटा पोखरी निर्माण सम्पन्न भएको र बाँकी पोखरी खन्ने काम पनि छिट्टै शुरु हुने सामुदायिक वन महासंघ ऐरावतीका सभापति रामप्रसाद पोख्रेलले बताए।

वातावरणमा पर्ने प्रभावलाई मध्यनगर नगरेरै पानीका मुहान पुरिने, भत्किने र सुक्ने गरी डोजर चलाउँदा पानीका मुहानहरू सुक्ने समस्या आएकाले उक्त समस्या समाधान गर्नका लागि सामुदायिक वन महासंघ ऐरावती र गाउँपालिका बिच रिचार्ज पोखरी बनाउने सहमति भए पछि ठूलो संख्यामा रिचार्ज पोखरी खनिएको पोख्रेलले बताए । उनले भने, ‘ऐरावतीमा भएका ५२ सामुदायिक वनमा प्रत्येक वनमा कम्तीमा पनि एउटा रिचार्ज पोखरी बनाउने र त्यसका लागि सामुदायिक वनका उपभोक्ताले श्रमदान गर्ने तर गाउँपालिकाले उनीहरूलाई एक दिनको रु १ सय ५० रुपैयाँ बराबर एकमुष्ट ७ लाख ७८ हजारको खाजा खर्च दिने सहमति भएपछि पोखरी खन्न सुरु गरेका हौँ ।’

नेपाल वातावरण पत्रकार समूह नेफेजले गत वर्ष साउन २६ गते गरेको पानी छलफल कार्यक्रमको फलोअप कार्यक्रममा बोल्दै पोख्रेलले उक्त कुरा बताएका हुन् । यस अघि आफूहरूलाई रिचार्ज पोखरीका बारेमा जानकारी नभएको बताउँदै उनले स्थानीय मल्लारानी ग्रामीण विकास सेवा केन्द्रले रिचार्ज पोखरीका बारेमा स्पष्ट पारेपछि पोखरी बनाउने प्रतिबद्धता गर्न अझ बढी सहज भएको उल्लेख गरे।

प्यूठानमा यस वर्ष निकै कम मात्रामा वर्षात भएका कारण खनिएका पोखरीहरूमा पानी भरिएको छैन।विगतमा पूर्खाहरूले भैँसीलाई आहाल खेलाउनका लागि ठाउँ ठाउँमा यस्ता पुनर्भरण पोखरीहरू बनाउँदै आएका थिए । हामीले त्यसको महत्व बुझेका थिएनौँ अहिले आए महत्व बुझ्न थाले पछि रिचार्ज पोखरी बनाउन सुरु गरेको बडरखोला सामुदायिक वनका अध्यक्ष भरतविक्रम शाहले बताए।

‘उहिले पूर्खाहरूले जानेरै बनाएका रहेछन्, अहिले पो हामीले यो रिचार्ज पोखरी बनाउँनै पर्छ भन्ने भयो नत्र पहिल्यैबाट हाम्रा बाउबाजेले यसको अभ्यास गर्दै आइरहेका रहेछन् ।’ शाहले भने, ‘यसको महत्व त सबैतिर बुझाउनुपर्छ । अन्यथा एक दिन पानीका हाहाकार हुन्छ।’
ऐरावतीका स्थानीयहरू रिचार्ज पोखरी खन्न उत्साही भएर लागेको रानीघाट महिला कृषक समूहकी कोषाध्यक्ष तथा वडा नम्बर २ की स्थानीय कमला श्रेष्ठले बताइन् । पानीको समस्या हुँदा एक दुइ घण्टा टाढासम्म पनि पानी ल्याउन जानुपर्ने बाध्यता छ। उनले भनिन्, ‘रिचार्ज पोखरी बनाइयो भने पानीका मूलहरू सुक्न कम हुन्छन् भनेर हामी सबैले आ–आफ्नो सामुदायिक वनमा ३ दिनसम्म पोखरी खन्यौँ । ’

पोखरी खन्ने काममा सबै स्थानीयले साथ दिँदा छोटो समयमा पनि यति धेरै पोखरी खन्न सफल भएको फेकोफन ऐरावतीका अध्यक्ष पोख्रेलले बताए।
विगतमा पुर्खाहरूले बनाएका पोखरी घाँस र झारले पुरिएको अवस्थामा त्यसलाई आफूहरुले पुन खनेर झारघाँस फालेर रिचार्ज पोखरी बनाएको ऐरावती २ की स्थानीय मुना रावतले बताइन्। आफूहरू खुसी भएर पोखरी खनेको बताउँदै उनले वर्षा आवश्यक मात्रामा नहुँदा पोखरीमा पानी नभरिएको जानकारी दिइन्।
त्यस्तै पानी छलफलमा बोल्दै रिचार्ज पोखरी खनेर मात्रै नहुने भएकाले त्यसको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए।
प्रत्येक सामुदायिक वनहरूमा एक वा सोभन्दा बढी रिचार्ज पोखरी बनाउने लक्ष्य अनुरूप लागिपरेको गाउँपालिका अध्यक्षले जानकारी दिए । उनले भने, ‘सुरुमा हामी नयाँ भएकाले बाटो खन्ने कामलाई प्राथमिकता दियौँ अब तिनै बाटोलाई स्तरोन्नति गर्ने, खनिएका बाटा वरिपरि वृक्षारोपण गर्ने र पानी पुनर्भरणका लागि पोखरी खन्ने कामलाई प्राथमिकता दिएका छौँ ।’
वृक्षारोपणका लागि आफूहरूले नर्सरी निर्माण गरी विरुवासमेत उत्पादन भइसकेको बताउँदै वर्षा नहुँदा वृक्षारोपणको काम अधुरो रहेको उल्लेख गरे । पानी छलफलमा अघिल्ला प्रतिबद्धताहरूमा गरेका कामहरूको जवाफ दिँदै अध्यक्ष शाहले वातारण संरक्षण र दिगो विकासका लागि गाउँपालिका कटिबद्ध भएर लाग्ने उल्लेख गरेका थिए ।
जलवायु परिपर्तन, वनजङ्गल विनाश, जनसंख्या वृद्धि, आगलागी, भौतिक पूर्वाधार निर्माण, सडक निर्माणलगायतका कारणले पानीका मूल अर्थात मुहानहरू सुक्दै जान थालेपछि पानी पुनर्भरणका लागि गाउँपालिकाले रिचार्ज पोखरी बनाएको हो । कार्यक्रममा बनेका र बनाइएका रिचार्ज पोखरीहरूको संरक्षण तथा सम्बद्र्धन गर्ने ,वृक्षारोपण गरिएको स्थानमा खुला चरिचरण रोक्ने लगायतका थप ५ बुँदे प्रतिबद्धतासमेत जनप्रतिनिधि, सरोकारवाला सबै निकायले गरेका छन् ।





