काठमाडौँ– प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद रंगमती शाहीले जनताहरू विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भइरहेको भन्दै जनताको स्वास्थ्यप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।
विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा हुँदा पनि विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भएको उनले बताएकी हुन्।
‘प्रधानमन्त्रीज्यू तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचे पछि नै तपाईको रेल र पानी जहाज चढौला । हामी नै बाँचेनौ भने तपाईंको रेल र पानी जहाज कस्ले चढ्ला? यो जनताको आवाज हो, ’ उनले भनिन्।
त्यस्तै, सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।





