जडिवुटी निकासीको अवरोध अन्त्य गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ– जडिवुटी निकासीमा क्वारेन्टाइनको समस्याका कारण भएका अवरोधलाई अन्त्य गर्न सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरेकी हुन्।

नेपालको हिमाली तथा पहाडी भू–भाग जडिवुटी भण्डारको रुपमा रहेको र यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडिवुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएको प्रस्तावमा उल्लेख गरिएको छ।

‘नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भईरहेको जडिवुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिवुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडिवुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ,’ प्रस्ताव भनिएको छ।

क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिवुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानआकर्षण गराउन सो प्रस्ताव पेश गरिएको जनाइएको छ।

उक्त प्रस्तावको समर्थक सांसद बालकृष्ण खाण, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार