धनगढी उपमहानगरपालिकामा २८ हजार बिरुवा वितरण

धनगढी– ‘एक घर दुई फलफूलका बिरुवा’ रोप्ने नीति अनुरुप धनगढी उपमहानगरपालिकाले झण्डै २८ हजार फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ।

नगर क्षेत्रका बासिन्दालाई आँप, लिची, मेवा, कागती र अनारका बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिएको उपमहानगरपालिका कार्यालय, कृषि शाखाका अधिकृत लोकराज उपाध्यायले बताए।

एक घर दुई फलफूलका बिरुवा रोप्नुपर्ने नीति कार्यक्रम भए पनि कार्यालयले फलफूलका बिरुवा लिन आउनेलाई दुईभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको छ। उपाध्यायले पाँच हजार बोट आँप, पाँच हजार ६०० कागती, दुई हजार ५०० लिची, दुई हजार अनार र १३ हजार मेवाका बोट वितरण गरिएको बताए। अठ्तीस हजार घरधुरी रहेको धनगढी उपमहानगरपालिकाको जनसङ्ख्या झण्डै एक लाख ४७ हजार रहेको छ। अनुदानमा फलफूलका बिरुवा वितरण गर्न करीब रु आठ लाख २६ हजार खर्च भएको जनाइएको छ।

यसैगरी नगर क्षेत्रका १० वटा कृषि समूह, सहकारी संस्था र व्यक्तिगत कृषि फर्मसमेतलाई ५० प्रतिशत अनुदानमा कृषि कार्यमा प्रयोग हुने पावर टिलर वितरण गरिएको छ। सात थान पम्पिङ सेटसहितको बोरिङ, सात वटा बोरिङ र पानी तान्ने मोटर वितरण गरिएको छ।

कार्यालयले केराखेती गर्न चाहनेलाई शतप्रतिशत अनुदानमा केराको बोट र सिँचाइमा ५० प्रतिशत अनुदान दिएको छ । तरकारीको खेती गर्न चाहने कृषक समूहलाई तरकारीको बीउ र बगरमा खेती गर्न चाहने चार वटा कृषक समूहलाई पाँच वटा पम्पिङ सेट र ७०० वटा क्रड, बालीलाई रोग किराको सङ्क्रमणबाट जोगाउन १६ क्वीन्टल जिङ्क पनि वितरण गरिएको छ।

सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै जाने नीति लिएको छ। यसका लागि जैविकखेती र बगरखेतीलाई प्रोत्साहन, एक वडा एक कृषि उत्पादन कार्यक्रम, माटो परीक्षणको व्यवस्था, फलफूलका बिरुवा वितरण, अस्वस्थ तरकारी र खाद्यान्नको आयातमा नियन्त्रण, युवालक्षित कृषि कार्यक्रम सञ्चालन, करेसाबारीमा तरकारी उत्पादन कार्यक्रम, व्यावसायिक तरकारी फलफूलखेती लगायतका कृषि कार्यक्रम सञ्चालन गर्नका लागि कृषक, कृषक समूह र सहकारी संस्थालाई कृषि यन्त्र, मल, बीउबिजन, तालीममा सहयोग गर्न लागेको छ।

नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको नामबाट वडा नं १२ मा ‘द्वारिकदेवी ठकुरानी कृषि अनुशन्धान केन्द्र’ स्थापना गर्ने नीति पनि उपमहानगरपालिकाको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार