काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
गोरखापत्र
-आजको गोरखापत्रमा हुलाकी राजमार्ग तीन वर्षमा निर्माण पूरा हुने भन्ने शीर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ। तराईको ‘लाइफ लाइन’का रूपमा रहेको हुलाकी राजमार्गको निर्माण आउँदो तीन वर्षभित्र सम्पन्न हुने भएको छ । यो राजमार्गको सबै खण्डको ठेक्कापट्टा लागी निर्माण कार्य अगाडि बढाइएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्ग अबको तीन वर्षमा सम्पन्न हुने स्पष्ट पार्नुभयो।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा धरहरा बनाइरहेको रमण कन्स्ट्रक्सन कालोसूचीमा भन्ने शीर्षकमा शान्ति तामाङको समाचार छापिएको छ। हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाटस्थित पुल निर्माणमा लापरबाही गरेपछि रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । धरहरा निर्माणसमेत गरिरहेको रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नदिन भनेको हो।
-महानगरीय प्रहरीले बनायो अत्याधुनिक भवनको नक्सा भन्ने शीर्षकमा टेकराज थामीको समाचार छापिएको छ। मुलुकको राजधानी सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर काठमाडौंको अत्याधुनिक भवन निर्माण दसैँलगत्तै सुरु हुने भएको छ। भवनका लागि आवश्यक नक्सा तयार भइसकेको छ ।परिसरका अनुसार सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन बन्नेछ । कुल क्षेत्रफलमध्ये ६ रोपनी जग्गामा भवनको जग बस्नेछ । भवन आठ तलाको हुनेछ। जसमा प्रहरीको मुख्य कार्यालय रहनेछ । मुख्य कार्यालयको बायाँतर्फको भागमा प्रहरीको ब्यारेक रहनेछ। जुन चार तलाको हुनेछ । कार्यालयको दायाँतर्फको भागमा भने हिरासत कक्ष रहनेछ । उक्त कक्ष पनि चार तलाकै हुनेछ। कार्यालयको बायाँतर्फका अर्का दुई तलामा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ। दायाँतर्फको अर्का दुई तला भने उजुरी कक्षका रूपमा प्रयोग गरिनेछ।
-अविरल वर्षाले महेन्द्रनगर बजार डुबान भन्ने शीर्षकमा मोहन विष्टको समाचार छापिएको छ। मंगलबार बिहान ३ बजेदेखि कञ्चनपुरमा परेको वर्षाका कारण जिल्ला सदरमुकाम महेन्द्रनगर बजार डुबानमा परेको छ । भीमदत्त नगरपालिका क्षेत्रका शहरी तथा बजारका बस्ती डुबानमा परेको हो। चुरे भएर बग्ने नदीखोला तथा खहरे खोलाबाट आउने निकास नहुँदा मुख्य गरेर महेन्द्रनगर बजार क्षेत्रमा पानी अझै थुनिएको छ । अनियन्त्रित रुपमा बनेका संरचनाका कारण पनि जताजतै पानी थुनिएपछि बजार क्षेत्र डुबानमा परेको हो । तर, जिल्ला सदरमुकाम डुवान तथा जलमग्न भइरहेका बेला अन्य ग्रामिण भेगमा भने वर्षा भएपनि सुख्खै छ । बजार क्षेत्रका केही स्थानीयको घरमा पानी पसेको छ।
-तयार भएन बन्चरेडाँडो दिनदिनै बढ्दै सिसडोलवासीका माग भन्ने शीर्षकमा मुना कुँवरको समाचार छापिएको छ। नुवाकोटस्थित बन्चरेडाँडामा निर्माण गर्न लागिएको नयाँ फोहोरमैला व्यवस्थापन केन्द्र समयमा तयार हुन नसक्दा सिसडोल ल्यान्डफिल्ड फाल्नुपर्ने भएको छ। सिसडोलमा क्षमताभन्दा बढी फोहोर जम्मा हुन थालेपछि त्यहाँका बासिन्दाका माग पनि दिनदिनै बढ्दै गएका छन्।
नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा १ अर्बको ठेक्का, प्रगति शून्य भन्ने शीर्षकमा नवीन लामिछानेको समाचार छापिएको छ। विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन। ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन्। काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु। काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताए।
राजधानी
-आजको राजधानी कालोपत्रे माग गर्दै फेरि आन्दोलन भन्ने शीर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। चाबहिलआसपासको सडक विस्तार तथा मर्मतका नाममा सडक भत्काएर लथालिंग छाडेपछि स्थानीय फेरि आन्दोलनमा उत्रिएका छन्। जनप्रतिनिधिको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण आजित बनेका सर्वसाधारण पटक–पटक सडक आन्दोलन गर्न बाध्य बनेका हुन्। निर्माण थालिएको लामो समयसम्म पनि चाबहिल–चुच्चेपाटी खडकखण्डमा कालोपत्रे नभएपछि स्थानीय मंगलबार सडकमा उत्रिए। स्थानीयलगायत व्यवसायीले सडकमै उत्रेर विरोध प्रदर्शन जनाएपछि यातायात अवरुद्धसमेत भए।





