हेटौँडा- बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापित गर्न प्रदेश नं ३ सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ ।
सरकारले जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुनःनिर्माणका लागि एक स्थानीय तहलाई अधिकतम् ५० लाखसम्म उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेका प्रदेश ३ विपद् व्यवस्थापन समितिले बाढी, पहिरो, डुबानलगायत घटनामा परी विस्थापित भएकालाई राहत रकमसमेत उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री पौडेलको अध्यक्षतामा आज बसेको बैठकले बाढी, पहिरो तथा डुबानका कारण विस्थापित भएका परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए। मन्त्री जम्कट्टेल विपद् व्यवस्थापन समितिअन्तर्गतको कार्यकारी समितिको अध्यक्षसमेत छन्।
बाढी, पहिरो, डुबानलगायत घटनामा परी खाद्यान्न, लत्ताकपडा, घर गोठ बगाएर पूर्ण रुपमा नष्ट भएका वा पूर्णरुपमा नष्ट नभए पनि सम्भावित खतराबाट जोगिन अन्यत्र सर्नुपर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रयस्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । प्रदेश ३ को विपद् व्यवस्थापन समितिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन दिएको छ ।
यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुरका बाढी, पहिरो, डुबानलगायत घटनाबाट अति प्रभावित स्थानीय तहको पहिचान गरी त्यहाँको खानेपानी, सिँचाइ, सडक, विद्यालयलगायत भौतिक संरचनाको क्षति विवरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत माग गर्नेसमेत निर्णय गरिएको मन्त्री जम्कट्टेलले जानकारी दिए । रासस





