दोर्दी करिडोरमा गएको बाढीपहिरोको अध्ययन गर्न समिति गठन

काठामाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दोर्दी करिडोरमा केही दिन पहिले गएको बाढी र पहिरोको क्षतिको समग्र अवस्थाको अध्ययनका लागि एक समिति बनाएको छ।

यही साउन ८ गते लमजुङको दोर्दी करिडोरमा अत्यधिक वर्षा भएपछि एक्कासि आएको बाढीले निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ र सुपर दोर्दी जलविद्युत् जनामा क्षति पु-याएको थियो। यस्तै बाढीमा परेर पाँच जनाको निधन भएको र केही बेपत्ता भएका थिए।

लमजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङ, सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्री वर्षमान पुनले आज मंगलबार छलफल गरेका हुन्।

सोही छलफलका आधारमा मन्त्रालयका सहसचिव रामगोपाल खर्वुजाले समन्वय गर्ने गरी, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, सिँचाइ विभाग, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (आइपान) र स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको छ । सो समितिले आवश्यक अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक सिफारिश गर्नेछ।

छलफलमा मन्त्रालयका सचिव डा सञ्जय शर्मा र दिनेशकुमार घिमिरेसहित उच्च अधिकारी सहभागीता थियो। नेकपाका मुख्य सचेतक गुरुङले बाँध फुटेर जलविद्युत् परियोजनामा मानवीय र भौतिक क्षति भएको भन्दै राहतको व्यवस्था गर्न माग गरेका थियो ।

छलफलमा मन्त्री पुनले जनताको सुरक्षा र भविष्यमा बन्ने आयोजनाको लागि पनि घटनाको अध्ययन जरुरी रहेको धारणा राखे। उनले लमजुङमा दुःखद् घटना भएको भन्दै विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग र अन्य निकायसँग समन्वय गरी मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट क्षमताको आयोजना हो। सो आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको थियो। निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा बाढीका कारण निर्माण उपकरण बगाएको छ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको आयोजनाले जनाएको छ। यस्तै सोही करिडोरमा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा पनि बाढीले क्षति पु¥याएको छ। सो करिडोरमा कूल पाँच आयोजना रहेका छन्। त्यसमा चार आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाको कूल क्षमता ११८ मेगावाट रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार