बागलुङ– जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।
स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी सात जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र पठाउने तयारी भइरहेको छ। पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ।
क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ। १५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ। अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ। उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।





