४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न

काठमाडौँ– २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९ सय ७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार थप २ लाख १४ हजार ३ सय १४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन्।

पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत रहेको थियो।

अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए। ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’–उनले भने।

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २ सय २१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन्। तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार १ सय १९ छ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन्। त्यहाँ ६७ हजार ८ सय ३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६ सय १३ घर पुनर्निर्माण भएका छन्। धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३ र गोरखामा ४४ हजार २ सय ३१ घर पुनर्निर्माण भइसकेका छन्।

कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ। कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५ सय २५ घर पुनर्निर्माण भएका छन्।

सिन्धुपाल्चोकमा ६७ हजार ८ सय ३४ घरको पुनर्निर्माण सम्पन्न भएको छ। त्यसैगरी नुवाकोटमा ५२ हजार ६ सय १३, धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३, गोरखामा ४४ हजार २ सय ३१ घर पुनर्निर्माण भएको प्राधिकरणले जनाकारी दिएको छ।

काभ्रेपलाञ्चोकमा ३० हजार ८ सय ७७, रामेछापमा ३० सय ७ सय ११, ओखलढुङ्गामा १५ हजार ७ सय ७२, मकवानपुरमा १३ हजार ७०, सिन्धुलीमा १२ हजार ५ सय ८२, काठमाडौँमा ११ हजा ५ सय ४२, रसुवामा १० हजार ४ सय १८, तनहुँमा १० हजार ५ सय २५, भक्तपुरमा ८ सय ४ सय २०, ललितपुरमा ४ हजार २ सय १६, लमजुङमा ३ हजार २००, चितवनमा २ हजार ९ सय ८२, खोटाङमा २ हजार ९ सय २८, सोलुखुम्बुमा २ हजार ३ सय २, पाल्पामा १ हजार ४ सय ३५, भोजपुरमा १ हजार २ सय ६८, धनकुटामा १ हजार २ सय ३, बागलुङमा ८ सय ८२, स्याङ्जामा ७ सय ७, पर्वतमा ६ सय ७६, नवलपरासीमा ६ सय २०, गुल्मीमा ३ सय २७, कास्कीमा ३ सय २४, म्याग्दीमा २ सय ७१, अर्घाखाँचीमा ५४ घर पुनर्निर्माण भएको छ।

सम्झौता नगर्नेको नाम हट्दै

निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ। त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन्।

लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन्। त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ।

ताजा समाचार

सम्बन्धित समाचार