काठमाडौँ– सरकारले ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेको बाटोहरू यकिन गर्दै ‘ट्रेल’ (ट्रेकिङ रुट) निर्माण गर्ने भएको छ।
विशेषतः शाहले प्रयोग गरेको मुख्य बाटोहरू, आक्रमण गरेको स्थानहरू, ठूलो मानवीय क्षति भएका स्थानहरू र उनको सेनाले प्रयोग गरेका अन्य संरचनाहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘ट्रेल’को निर्माण गर्न लागिएको हो।

नेपाली सेनाले यस अगाडि नै पटक–पटक सो प्रस्ताव गरेपनि सरकारले बजेट उपलब्ध गराएको थिएन।
नेपाल एकीकरणमा प्रयोग भएका महत्त्वपूर्ण स्थानहरूको बाटो स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने भएकोले सो ‘ट्रेल’को निर्माण गर्न लागिएको सरकारी अधिकारीहरूको भनाइ छ।
साथै शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानलाई सम्मान गर्नु सो ‘ट्रेल’ निर्माणको अर्को उद्देश्य भएको सरकारी अधिकारीहरू बताउँछन्।
‘ट्रेल’ निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको भएतापनि बजेट र पूर्ण योजना तयार नभएकाले काम शुरू नभएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले हाकाहाकीलाई बताए।
उनले भने, ‘ट्रेल निर्माणको लागि ५ करोड छुटाइएसँगै यसको निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।’
त्यसैगरी नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले ‘ट्रेल’ निर्माणका लागि प्रारुप तयार भएको जानकारी दिए।
विभिन्न देशमा कुनै पनि युद्ध सकिएपछि त्यसको लामो समयसम्म स्मरणको लागि ‘ट्रेल’ निर्माणको प्रचलन रहेको हुन्छ। र यस्ता ‘ट्रेल’हरूको प्रमुख उद्देश्य पर्यटन प्रवद्र्धन गर्नु हो।
यस्ता ‘ट्रेल’ निर्माणले स्थानीय स्तरमा केही रोजगारी समेत श्रृजना गर्न मद्दत गर्छ।





