काठमाडौँ– सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ। त्यसैका लागि प्रदेश सरकारले आज (आइतबार) बिहान काठमाडौँमा बृहत् छलफल गरेको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी (क्रीस)को प्रतिनिधिमण्डल, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच छलफल भएको जनाइएको छ।
यही साउन १७ गते क्रीस कम्पनीले कर्णाली प्रदेश सरकारलाई बुझाएको उक्त द्रुतमार्ग सम्भाव्यता अध्ययन प्रतिवेदन कर्णाली प्रदेश सरकारले आजको छलफलमा प्रस्तुत गरेको बताइएको छ।
प्रतिवेदनमा उल्लेखित ४ सय ३ किलोमिटर दूरीको उक्त द्रुतमार्गको लगानी ६४ अर्ब लगानी लाग्नेछ। कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको यो मार्ग चिनियाँ कम्पनी क्रीसले खर्चमा कार्य थालनी गरेको छ महीनाभित्र सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो।





