वाग्मतीलगायत नदी र चक्रपथ सफाइ अभियान जारी

काठमाडौँ– उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलगायत यसका सहायक नदी र चक्रपथ सफाइ अभियान जारी छ ।

वाग्मती सफाइ महाअभियानको ३२५औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १९ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सदस्य माला खरेलले  जानकारी दिए ।

सफाइमा तीनै वटा सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिकालगायतको संस्थागत सहभागिता थियो । सफाइमा वातावरण सद्भावना दूत एवं हिमाल आरोही आङतेम्बा शेर्पासहितका अभियानकर्मी पनि सक्रिय थिए।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८७ हप्तामा गोठाटारबाट जोरपाटी जोड्ने पहेँलो पुलमा सफाइ गरियो । सफाइका क्रममा नदीभित्र छिरेर बाढीले बगाइ ल्याएका फोहरमध्ये कुहिनेलाई खाडल खनेर पुरी नकुहिने जति व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए।

वाग्मती सुन्दरता सरोकारमञ्चको नेतृत्वमा हुने यस क्षेत्रको सफाइमा सहभागी हुन घरको फोहर आफैँ व्यवस्थापन गर्नुपर्ने शर्त राखिएको छ । वाग्मतीको मुहानदेखि नै सफाइ गर्ने नारासहित यो क्षेत्रको सफाइ अभियान शुरु भएको हो ।

रुद्रमती सफाइको २७९ हप्तामा कालोपुलबाट रुद्र पनेकु बेलीब्रिजसम्मको किनार र नदीमा सफाइ गरी दुई क्वीन्टल फोहर व्यवस्थापन गरिएको छ । सफाइमा २०० अभियानकर्मीको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइको २५२औँ हप्तामा तारकेश्वर नगरपालिका–११ नेपालटारको चारघरेमा वृक्षरोपण गरियो । स्वच्छ वातावरण बनाउन सफाइसँगै वृक्षरोपण गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले बताए।

वृक्षरोपणको शुभारम्भ गर्नुहुँदै शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सफाइमा स्थानीयवासी सबै जुट्नुपर्नेमा जोड दिए । वातावरणीय स्वच्छताका लागि सफाइसँगै पर्यावरण जोगाउन पनि लाग्नुपर्नेमा जोड दिए।

सांसद भीमसेनदास प्रधानले जलवायु परिवर्तनबाट जोगाउन खाली स्थानमा बिरुवा रोप्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौला, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालगायत सफाइ अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका थियो ।

कार्यक्रममा रुद्राक्ष, वर, पिपल, समी, कदम, अम्बा, कल्कीफूल, निम, बाँस, पैयूँलगायत २२ जातका ७०० बिरुवा रोपिएको संयोजक पाण्डेले जानकारी दिए। वृक्षरोपणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायत स्थानीयवासी गरी ५०० भन्दा बढीको सक्रियता थियो ।

वाग्मती तिलगङ्गा क्षेत्र सफाइको २५५औँ हप्तामा निलो पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइका क्रममा कुहिने फोहर खाडल खनेर पुरी नकुहिने फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताए ।

आलोकनगर सफाइको १२३औँ हप्तामा त्यस क्षेत्रमा स्वस्फूर्त जनचेतनामूलक सफाइ गरियो । सफाइमा त्यस क्षेत्रमा उम्रिएको गाँजासमेत फँडानी गरिएको संयोजक प्रमिला पौडेलले सुनाए ।

चक्रपथ सफाइको १२२ हप्तामा सामाखुसी चोकबाट गङ्गबु भई फेरि सामाखुसी चोकसम्म सफाइ गरियो । ५०० जना अभियानकर्मीको सहभागितामा भएको सफाइमा छ टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।

चक्रपथ सफाइ २०७१ को १०३औँ हप्तामा बालाजु चोकबाट गङ्गाहलसम्म सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइमा सांसद सूर्य पाठक समेत सहभागी हुनुभएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

सफाइमा काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत २०० भन्दा बढी अभियानकर्मी सक्रिय हुनुहुन्थ्यो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभरका १०५ स्थानभन्दा बढी ठाउँमा कार्यक्रम भइरहेको छ । ठोस् उपलब्धि नदेखिए पनि सफाइ अभियानले देशव्यापी जागरण भने ल्याएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार