काठमाडौँ– चक्रपथ विस्तारको दोस्रो चरण अन्र्तगत पर्ने कलंकी–महाराजगञ्ज खण्डमा रुख काट्नका लागि टाँचा लगाउने कार्य शुरु भएको छ। सडक कस्तो डिजाइनमा बनाउने कहाँ कति रूख काट्ने लगायतको निक्र्योल नै नगरी सडक विभागले रुख काट्न वन मन्त्रालयलाई पत्रचार गरेको हो।
उक्त खण्डको निर्माण गर्ने चिनियाँ कम्पनीले विस्तार गरिने सडक छेउछाउका रुख नकाटेसम्म डिजाइन नपठाउने भनेपछि सडक छेउछाउका रुख, टहरा तथा विजुलीको पोलहरू हटाउन शुरु गरिएको सडक विभागले जनाएको छ।
‘वन मन्त्रालयबाट रुख हटाउने र विद्युत् प्राधिकरणबाट विद्युतीय पोल समयमा नै हटाउने काम भएपछि मात्रै ठेकेदारले डिजाइन पठाउँछु भनेको छ,’ विभाग प्रवक्ता शिवहरि सापकोटाले भने।
रूख र विजुलीको पोल हटाउनको लागि सडक विभागको विज्ञता नभएकोले सम्बन्धित निकायले उक्त काम गर्नुपर्ने सापकोटा बताउँछन् । उनका अनुसार साइड खाली गर्ने काम जति ढिलो हुन्छ, त्यति नै ढिलो चीनबाट डिजाइन आउँछ।
सापकोटाका अनुसार विभागको पक्षबाट अहिले सडक छेउछाउ खाली गर्ने काम भइरहेको छ। जसमा रूखहरू गनेर टाँचा लगाउने, विजुलीको पोलहरू गन्ने तथा टहरा गन्ने काम भइरहेका छन्।
त्यसैगरि चक्रपथ सुधार आयोजनाका प्रवक्ता निराजन शर्मा अर्याल समयमा नै डिजाइन नआउँदा काम शुरु गर्ने मापदण्ड तयार हुन नसकेको बताउँछन्।
‘अहिले डिजाइन प्रतिक्षाको घडी चलिरहेको छ,’ उनले भने, ‘उनीहरूले डिजाइन दिएपछि मात्रै काम शुरु गर्ने हो ।’ दोस्रो खण्ड विस्तारको जिम्मा चीनको भएपनि उसले अझैसम्म डिजाइन तयार नपारेको शर्माले बताए। डिजाइन हात परेपछि मात्रै परियोजनाको लागत, कहाँ अन्डरपास बनाउने, कहाँ हाइओभर राख्ने जस्ता कुरा थाहा हुने उनको भनाइ छ।
डिजाइनको काम अन्योलमै रहेतापनि सडक छेउछाउका सामानहरू हटाउने प्रक्रिया भने अगाडि बढेको उनले जानकारी दिए। ‘वन मन्त्रालयको सहयोगमा अहिले रुखमा टाँचा लगाउने काम भइरहेको छ,’ उनले भने। रुखहरू गणना तथा छनौट गरेपछि काट्ने र त्यसको लागतको बारेमा थाहा हुने उनको भनाई छ।
चक्रपथ सडक सुधारको पहिलो चरण अन्र्तगत पर्ने कलंकी–कोटेश्वर खण्ड भने चीनले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। नेपालका लागि चीन राजदुत हउ याङचीले प्रधानमन्त्री के.पी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन्।
चक्रपथको कलंकी– कोटेश्वर खण्ड देख्नमा राम्रो भएपनि दुर्घटना बढ्दै गएपछिे जोखिमयुक्त सडक भन्दै चर्को आलोचना भइरहेको छ। पर्याप्त जेब्रा क्रसिङ, आकाशे पूल, स्पीड कन्ट्रोलरका साथै फुट पाथ नहुँदा सडकमा दुर्घटना बढ्दै गइरहेको प्रहरीको भनाइ छ।
सडकको उचित व्यवस्थापन नहुँदापनि दुर्घटना बढेको सडक विभाग तथा ट्राफिक प्रहरी स्वीकार्छन्। चक्रपथ विस्तारको दोस्रो खण्डको अहिलेसम्म डिजाइन तयार नभएपछि सर्वत्र रुपमा पहिलो जस्तै भयावह सडक बन्ने हो कि भन्ने प्रश्नहरू उठ्न थालेका छन्।





