काठमाडौँ– केही दिनयता मनसुन कम सक्रिय हुँदा दिनभर घाम लाग्ने तथा साँझपख हल्का वर्षा हुँदै आएको छ। यसले गर्दा धान रोप्न समस्या उत्पन्न भएको कृषकहरूकाे गुनासो छ।
दिनभर चर्को घाम लागेर साँझ छिटपुट मात्र वर्षा हुँदा रोपिएको धान समेत पानीको कमी भइ सुक्ने अवस्थामा पुग्न लागिसकेको छ।

मनसुनी वायुको न्यून चापीय रेखा नेपालको तराई भन्दा दक्षिणतर्फ रहेकाले वर्षा हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यून चापीय रेखा उत्तरतिर जान समय लाग्ने भएकाले केही दिन सामान्य मात्र वर्षा हुने मौसमविद् गंगा नगरकोटीले बताइन्।
‘तराईको मध्य र पूर्वी भूभागमा हल्कादेखि भारी वर्षा हुन सक्ने देखिन्छ,’ उनले भनिन्, ‘विगतको जस्तो अविरल वर्षा भने हुँदैन्।’
हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदली भइरहेको उनले जानकारी दिइन्। मध्य तराई क्षेत्रमा भने मौसम सफा रहेको उनको भनाइ छ।
जुन, जुलाई, अगष्ट र सेप्टेम्बर गरी चार महिना मनसुन सक्रिय रहने भएकाले न्यून चापीय रेखा माथि/तल भइरहने उनी बताउँछिन्।
मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ स¥यो र लामो समय रह्यो भने मात्रै अविरल वर्षा हुने उनले बताइन्। केही स्थानमा वर्षा भइरहेकाले मनसुन निस्क्रिय भएको भन्न नमिल्ने उनले जनाइन।
सामान्यतः जुन १० बाट भित्रने मनसुनयस वर्ष १० दिन ढिलोगरी भित्रिएको थियो। साधारणतया जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ।
नेपालमा मनसुनको ढिलो प्रवेश र ढिलो सक्रिय हुँदा आकाशे पानीको भरमा धान रोपाइँ गर्नेहरू र पछिल्लो दिनमा मनसुन कम सक्रिय हुँदा रोपाइँ गर्न बाँकी किसानहरू मर्कामा परेका छन्।
अघिल्लो वर्ष साउनको दोस्रो हप्तामा ८१ दशमलव ३१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तर यसवर्ष ८० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
साउनको दोस्रो हप्तासम्म भएको रोपाइँको प्रतिशतको आधारमा यस वर्ष धानको उत्पादन घट्ने धानविज्ञ भोलामान सिंह बस्नेत बताउँछन्।
गत आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको भन्दै यस वर्ष मनसुन ढिलो सक्रिय हुँदा धान उत्पादनमा कमी आउने निश्चित भएको उनले बताए।
‘पानी नपरेका कारण रोपाइँ पनि ढिला नै शुरु भयो,’ उनले भने ‘अब एकदुई दिन पानी परेन भने त रोपाइँ गर्ने किसानहरूलाई झनै मुस्किल हुन्छ।’ यसका साथै पानी नपार्नाले रोपिसकेको धानबाली पनि सुक्न सक्ने भएकाले उत्पादनमा कमी आउने उनको धारणा छ।
लगातारको भन्दा पनि पटकपटकको वर्षा धानबालीलाई राम्रो हुने भएकाले अविरल र हल्का वर्षा दुबैले उत्पादनमा असर गर्ने उनी बताउँछन्। उनले भने, ‘अब कम वर्षा हुनु अथवा हुँदै नहुनु भनेको उत्पादनमा कमि हुनु हो।’
गत वर्ष जुन ८ देखि मनसुन सक्रिय भएकाले पनि छिटो रोपाइँ सकिएको उनको भनाइ छ। आकासे पानीमा भर पर्ने किसान हरक वर्ष रोपाइँका बेला सास्ती व्यहोर्दै आएका छन्। मनसुन ढिलो सक्रिय हुनु र रोपाइँका बेला मलको हाहाकार हुन किसानको टाउको दुखाइको विषय बन्दै आएको छ। त्यसैले उत्पादन वृद्धि गर्नका लागि कम महत्त्पूर्ण आयोजनालाई थाति रखेर सिँचाई तर्फ व्यापक कार्य गर्न आवश्यक रहेको बस्नेतले जनाए।





