काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा ललितपुर महानगरलाई साइकलसिटी बनाउने योजना भन्ने शीर्षकमा विजय कार्कीको समाचार छापिएको छ। ललितपुर महानगरपालिकाले साइकलसिटी बनाउने योजनाअन्तर्गत साइकल लेनसम्बन्धी कानुन बनाउने भएको छ । नेपाल साइकल सोसाइटीसँगको बैठकमा मेयर चिरिबाबु महर्जनले साइकलयात्रुको सुरक्षा र सहजताका लागि कानुन निर्माण गर्ने बताएका हुन् । ‘ललितपुरलाई साइकलमैत्री सिटी बनाउन कानुन आवश्यक छ । अब बन्ने कानुनले मानिसलाई साइकलमैत्री हुन प्रोत्साहित गर्नेछ ।’ मेयर महर्जनले भने ।
राजधानी
-आजको राजधानीमा ७० सरकारी भवन पुनर्निर्माण भन्ने शीर्षकमा समाचार छापिएको छ। २०७२ को महाभूकम्पबाट पूर्ण क्षति सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पबाट क्षति पुगेका ५० भवन पुनर्निर्माण धमाधम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। पुनर्निर्माण सम्पन्न ७० मध्ये सरकारको स्रोतमा ३० र एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगबाट ४० भवन निर्माण भएका हुन्।
नागरिक
-आजको नागरिकमा सात महिनामै भत्कियो खेल मैदानको पर्खाल भन्ने शीर्षकमा समाचार छापिएको छ। दिक्तेलस्थित माटिकोरे खेल मैदानमा निर्माण गरिएको पर्खाल सात महिनामै भत्किएको छ। खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाख रुपैयाँभन्दा बढी लागतमा पुसमा निर्माण गरिएको पर्खाल असार मसान्त ननाघ्दै भत्किएको हो।
-पानी नपरे पनि एकाएक बाढी भन्ने शीर्षकमा सन्तोष पोखरेलरहरिकृष्ण गौतमको समाचार छापिएको छ। गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट-यो। तर लाच्थावाङ र घुर्म खोलामा एकाएक बढी आउने क्रम अझ पनि जारी छ। बिहीबार पनि एकाएक बाढी आउँदा सो क्षेत्रमा आतंक सिर्जना भएको थियो।
-कृषि उत्पादन सवा करोड क्विन्टल वृद्धि भन्ने शीर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। हरेक वर्ष विदेशबाट कृषिजन्य वस्तु आयात बढिरहेको बेला गत वर्ष सवा करोड क्विन्टल कृषि उत्पादन बढेको छ। अनुकूल मौसम, सिँचाइ, मलको व्यवस्थाले गत आव ०७५/७६ मा एक करोड २४ लाख ४८ हजार क्विन्टल (१२ लाख ४४ हजार आठ सय २१ मेट्रिक टन) खाद्यान्न, तरकारी र उखुको उत्पादन बढेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।
-‘सोलुदूधकुण्ड’मा धमाधम बेलिब्रिज भन्ने शीर्षकमा शिखरजंग श्रेष्ठको समाचार छापिएको छ। सडकको पहुँच पुगेको केही वर्ष भएको तामाखानीस्थित लोदिङ खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारण बर्खामा सास्ती खेप्दै आएका थिए। उनीहरुले मात्र हैन, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरानी भोग्नुपर्ने बाध्यता थियो। धेरैलाई लाग्थ्यो, लोदिङ खोलामा पुल भइदिए हिँड्नुपर्ने थिएन।





