प्रदेश तीनको पाँच जिल्लामा विषादी परीक्षण प्रयोगशाला

काठमाडौँ– तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि प्रदेश नं ३ ले उपकरण खरिद गरेको छ। प्रदेश सरकारले चितवन, ललितपुर, काभ्रे, नुवाकोट र मकवानपुरमा तरकारी तथा फलफूलको विषादी परीक्षण प्रयोगशाला स्थापना गर्नको लागि उपकरण खरिद गरेको हो।

प्रदेश तीनले खरिद गरेकाे विषादी परीक्षण उपकरण

पछिल्लो समय तरकारी तथा फलफूलमा अत्याधिक मात्रामा विषादीको प्रयोग भएको गुनासो आएसँगै प्रदेश तीनका ४  जिल्लामा भएकाे कृषि ज्ञान केन्द्र र मकवानपुरकाे माटाे तथा मल परीक्षण केन्द्रमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको हो। त्यसैका लागि विषादी परीक्षण गर्ने उपकरण खरिद गरिएको प्रदेश तीनको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

१ करोड ८५ लाख लगानीमा उक्त उपकरण खरिद गरिएको बताउँदै मन्त्रालयका प्रवक्ता निर्मल गदालले प्रयोगशाला स्थापनाको लागि अहिले संरचना निर्माणको काम भइरहेको जनाए।

‘प्रयोगशाला स्थापनाको लागि प्राविधिकहरूलाई तालिम दिने काम भइरहेको छ, प्रयोगशाला पनि छिट्टै सञ्चालनमा आउँछ,’ उनले भने। प्रयोगशाला सञ्चालनको लागि दक्ष प्राविधिकको आवश्यकता पर्ने भएकोले प्रत्येक प्रयोगशालामा ३-३ जना प्राविधिक राख्ने तयारी भइरहेको गदालले बताए। उनका अनुसार प्राविधिकहरूलाई ३ दिने तालिम समेत दिइनेछ।

कृषकहरूलाई विषादीको प्रयोग र त्यसले गर्ने असरबारे प्रष्ट जानकारी हुनुपर्ने भएकोले प्रयोगशाला सञ्चालन गर्नु अगाडि उनीहरूसँग प्रत्यक्ष भेटेर चेतनामूलक कार्यक्रम गर्ने तयारी रहेको भनाई छ।

प्रयोगशाला स्थापना पश्चात बजारबाट तरकारी तथा फलफूल ल्याइ विषादीको अवस्था पत्ता लगाउनु पहिलो काम भएको उनी बताउँछन्।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आउने सोमबार मकवानपुरमा विषादी परीक्षण उपकरणको उद्घाटन गर्ने भएका छन्। खरिद गरिएका सबै उपकरणहरू सम्बन्धित जिल्लाहरूमा पुर्‍याइसकेको प्रवक्ता गदालले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार