काठमाडौँ– सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिले पुनःनिर्माणको बाँकी काम पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण सदाचार विषयमा सञ्चार माध्यमसँगको छलफल’ विषयक छलफल कार्यक्रममा उनीहरूले भूकम्पपछिको पुनःनिर्माण अझै झण्डै आधा काम बाँकी रहेको सुनाउनु हुँदै त्यसमा पारदर्शीता अपनाउनुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव खेमराज रेग्मीले पुनःनिर्माणका क्रममा सरकार र नागरिक दुवैबाट गल्ती भएको बताए । भूकम्पको चार वर्ष नाघिसक्दा समेत सरकार अझै तथ्याङ्क सङ्कलनमा नै लागिपरेको उनले बताए ।
सरकारले अहिलेसम्म पहिचान भएकालाई अनुदान दिएर छुटेकालाई स्थानीय सरकार वा सङ्घीय सरकारले नै विशेष कार्यक्रममार्फत समेट्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यन्वयन एकाई काठामाडौँका मूल्याङ्कन तथा अनुगमनविज्ञ राजकुमार पौडेलले प्राधिकरण, संस्था र कर्मचारी पनि नयाँ भएकाले काममा ढिलाइ भएको बताए।
“काठमाडौँमा घर जोडिएको, थोरै जग्गामा बनेको एउटै भवनमा धेरैजना दाजुभाई बस्ने भएकाले स्वामित्वका कारण पनि काममा ढिलाइ भएको छ, बहुस्वामित्वको कार्यविधि आउँदै छ, त्यसपछि पुनःनिर्माणले तीव्रता पाउनेछ”–उनले भने।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत बबिता शर्माले दुई वा त्योभन्दा बढी घर भएकाले अर्को ठाउँमा वा त्यही ठाउँमा घर हुँदा पनि भत्किएको घर देखाएर अनुदान लिएका घटना अनुगमनका क्रममा पाइएको बताए।
ट्रान्सपरेन्सी इन्टरनेशनलले भूकम्प अति प्रभावित १४ जिल्लामा ‘भूकम्पपछिको पुनःनिर्माणमा सदाचार’ कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्ला अधिकृत तोकेर पुनःनिर्माणका क्रममा भएका अनियमितताका बारेमा सार्वजनिक सुनुवाइ, सरोकार भएका निकायको सभागितामा अन्तक्र्रिया कार्यक्रम गरिरहेको जानकारी सो अवसरमा दिइयो।





