Thursday, September 26, 2024

पहिरोपीडित परिवारले नयाँ घर पाए

पर्वत- बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका यहाँका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।

विसं २०७५ साउन १ गतेको बाढी पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा एक पहिरोपीडितका लागि दुईकोठे घर निर्माण भएको हो ।

रु ९३ लाख ९४ हजार लागत अनुमान गरिएको पहिरोपीडितको घर पुनःनिर्माणका लागि रु ७९ लाख २८ हजार बराबरको सिमेन्ट, रड, जस्तापातालगायत निर्माण सामग्री सहयोग गरिएको हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको थियो ।

व्यक्तिले चर्चेका सार्वजनिक जग्गामा उनीहरुलाई हटाएर सुकुम्बासी पीडितलाई प्रतिघर साढे दुई आनाका दरले घर बनाउन जग्गा उपलब्ध गराएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए। संस्थाको निर्माण सामग्री र प्राविधिक सहयोगमा पीडित आफैँले घर पुनःनिर्माण गरेका वडाध्यक्ष जिसीले बताए।

लामाखेतमा औपचारिक कार्यक्रम गरेर पहिरोपीडितलाई घर निर्माण भएको प्रमाणपत्र र साँचो वितरण गरिएको थियो ।
घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकामा पीडितहरुले खुशी व्यक्त गरेका छन् । केही पीडितले पहिलेको पहिरो नथामिएका कारण दाताको सहयोगमा नयाँ घर बनाए पनि असुरक्षाका कारण तत्काल त्यहाँ बस्न नसकिने बताएका छन् । पहिरोपीडितलाई घर हस्तान्तरणका लागि आउनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र पर्वतका प्रजिअ कल्पना घिमिरेले असुरक्षित ठाउँमा घर बनाउने खर्चले सुरक्षित ठाउँमा जग्गा खोजेर उपलब्ध गराउन सकेको भए राम्रो हुने बताए।

अधिकांश पहिरोपीडित दलित समुदायका छन् । भिरको फेदीको पाखोमा घर बनाएर बस्दै आएका उनीहरु सुकुम्बासी हुन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार