काठमाडौँ– खानेपानी मन्त्री बिना मगरले घर चलाउन आकाशे पानी जोगाउन जत्तिको सजिलो विधि अरु नभएको बताएकी छन्।
गत शनिवार र आइतबार काठमाडौँमा भएको राष्ट्रिय आकाशे पानी संकलन कार्यशालामा बोल्दै मन्त्री मगरले टाढाको मुल खोजेर कुलो वा पाइपबाट आउने पानी कुनै बेला पनि रोकिन सक्ने तर आकाशबाट घरकै बलेँसीमा झरेको पानी उपयोग गर्न कसैले रोक्न नसक्ने बताएकी हुन्।
उक्त कार्यशालामा सहभागीहरूले सरकारलाई पानीको समस्या र यससँग सम्बन्धित सेवाहरू प्रवाह सुधार गरेर मानिसलाई स्तरीय जीविकोपार्जनको वातावरण बनाउन आकाशेपानी संकलन एउटा गतिलो विकल्प हुन सक्ने सुझाव दिएका छन्।
खानेपानी व्यवस्थापनका कोणबाट केही क्षेत्रहरूमा मानिसको सोचमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताइएको छ।
अहिले आकाशेपानी संकलनको विषयमा जे थाहा छ त्यो भन्दा बढी प्रविधिहरूको प्रयोग गरी आकाशेपानी संकलनको कामलाई बढावा दिनुपर्ने माग सहभागीहरूले गरेका छन्। आकाशेपानी संकलनको सुविधा प्रदान गर्दै आएका नीजि क्षेत्रहरूलाई आकर्षित गर्न व्यापारिक हिसाबले पनि यो क्षेत्र उत्तम छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने र यसका लागि विशेष सहुलियत प्रदान गर्नुपर्नेका उनीहरूले जोड दिएका छन्।
आकाशेपानी संकलनसँग सम्बन्धित नीति, नियम, निर्देशिकाहरुलाई सरकारले अद्यावधिक गर्नुपर्ने, कार्यान्वयन भए नभएको अनुगमन सरकारले गनुपर्ने, आकाशेपानी संकलनप्रति जनचेतना जगाउन विशेष सचेतना अभियानहरू सञ्चालन, यस विषयलाई विद्यालय शिक्षाको पाठ्यक्रममा राख्नुपर्ने, नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुसरण गर्नुपर्नेलगायतका सुझाव कार्यशालालेको छ।
सम्मेलनमा ३८ वटा संघ संस्थाको सहभागिता थिए। सम्मेलन अवधिमा ६ वटा सत्रभित्र ३० वटा कार्यपत्र प्रस्तुत गरिएको आयोजकको भनाई छ।
सम्मेलन स्थलमा आकाशे पानी संकलन सम्बन्धि जानकारी दिने, सामाग्री उपलब्ध गराउने, प्रविधिको सिकाउने खालका प्रदर्शनी गरिएको थियो। सम्मेलनमा कोरिया, श्रीलंका, भारतलगायत देशका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ।





