काठमाडौँ– असार अन्तिम साताको भीषण वर्षा र त्यसपछिको नियमित वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरोका कारण पाँच वटा सडकहरू अझै अवरुद्ध रहेको सडक विभागले जानकारी दिएको छ।
पहिरोका कारण अवरुद्ध भएका सडक एवं पुललाई पूर्ववत अवस्था ल्याउन काम भईरहेको विभागको भनाई छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण असार र साउन महिना गरी देशभर ५० बढी सडक तथा पुलहरुमा क्षति पुगेको छ।
विभागका अनुसार असार २६ गतेदेखि लहानको मिरचैया–कटारी–घुर्मी सडक, असार २८ गतेदेखि ललितपुरको छम्पि टिकाभैरव सडक, असार २७ गतेदेखी निर्माणाधीन कान्ति लोकपथ सडक, साउन १२ गतेदेखी कर्णाली राजमार्गको काने खोला सडक र दमौलीको बेशीसहर–मनाङ सडक अवरुद्ध छन्।
करिब ५० मिटर भासिएको ललितपुरको सातदोबाटो–सुमेरु हस्पिटल–धापाखेल सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ भने ग्वार्काे देखि लाकुरीभन्ज्याङसम्मको सडक मंगलबारदेखि पुर्ण रुपमा सञ्चालनमा आएको छ।
सडक विभागका प्रवक्ता शिवहरी सापकोटाका अनुसार सडक तथा पुलहरुको क्षति ग्रस्त ठाउँहरुमा सम्बन्धित कार्यालयले आपतकालिन अवस्थामा ३ चरणका मर्मतका कामहरू गरिरहेका छन्। सडक सुचारुका लागि पर्याप्त संयन्त्र परिचालन गरिएको उनले बताए।
सडक तथा पूल अवरुद्ध भएको पहिलो चरणमा लामो समयदेखी जाममा रहेका दुवै तर्फका गाडीहरू पास गराउने उनले बताए। ‘दोस्रो चरणमा यातायातलाई अलि सहज गराएर, तेस्रो चरणमा भने सडक पहिले जस्तो अवस्थामा थियो त्यस्तै बनाइन्छ’ सापकोटाले हाकाहाकीसँग भने।
पहिलो चरणमा गाडी पास गर्नुको साथै आवश्यक उपकरण तथा इन्धन उपलब्ध गराउने काम सम्बन्धित क्षेत्रले गर्ने सापकोटाको भनाइ छ। त्यसैगरी दोस्रो चरणमा भने यातायात सहज गराउनलाई वाल लगाउने देखि लिएर छेकबारको काम हुने गरेको उनको भनाइ छ। तेस्रो चरणमा क्षतिको अवस्था अनुसार सडक मर्मत तथा पूर्ननिर्माणको काम हुने उनी बताउँछन्।





