काठमाडौँ– माइक्रोले स्थानीयलाई ठक्कर दिएपछि अवरुद्ध खरिबोट–बनस्थली सडक दुई महिना बित्दा पनि खुल्न सकेको छैन्।
गत ७ जेठमा उक्त रुटमा चल्ने माइक्रोले स्थानीयलाई ठक्कर दिएपछि घाइते पक्षले सार्वजनिक सवारीमा रोक लगाएका हुन्।
दुर्घटना भएसँगै घाइते पक्षले उक्त रुटमा गाडी नै चलाउन पाउँदैन भनेर रोक लगाएको बालाजु यातायात प्रा.लि.का सञ्चालक राजेन्द्र मानन्धर बताउँछन्।
हाल उक्त रुटका गाडीहरू वनस्थलीबाट मात्र सुन्धाराको लागि छुट्ने गरेका छन्। सार्वजनिक सवारी खरिबोटसम्म जान नपाएपछि सेवाग्राहीहरू भने सास्ती भोग्न बाध्य छन्।
उक्त अवरोधका कारण विद्यार्थीहरू बढी मारमा परेका छन्। खरिबोट मात्रै नभएर नागरिक बजार लगायतका ठाउँबाट हतारहतार गर्दै विद्यार्थी तथा यात्रुहरू वनस्थलीसम्म हिँड्दै आउछन्। यसले गर्दा समयमा नै कलेज पुग्न समस्या हुने विद्यार्थीहरूको गुनासो छ।
एउटा गाडी छुटेमा अर्को मान्छे नभरिए सम्म नहिड्ने भएकाले कुनैबेला पहिलो कक्षा नै छुट्ने विद्यार्थीहरू बताउँछन्।
उक्त रुटमा गाडी नचल्नाले आफूलाई धेरै नै समस्या परेको बताउँछिन्, खरिबोटमा बसेर अध्ययन गरिरहेकी विष्णु कुँवर । ‘त्यति माथिबाट हिँड्दै आउनुपर्छ, कहिलेकाहीँ त समयमा कलेज पुग्नै गाह्रो हुन्छ,’ उनले भनिन्।
दुई महिनादेखि सार्वजनिक गाडी नचलेपछि विद्यार्थीका साथसाथै बालक तथा वृद्धहरू पनि समस्यामा परेका छन् । सोही रुटमा गाडी चलाउने चालक तथा सहचालक पनि आफूले खरिबोटसम्म गाडी लैजान नपाएकोमा गुनासो गर्छन् । केही समय अगाडि एउटा माइक्रोले मानिसलाई ठक्कर दिएपछि सो रुटमा त्यहीका स्थानीयले गाडी जानबाट रोकेको चालक तथा सहचालकहरूको भनाइ छ ।
दुर्घटना भएको स्वीकार्दै त्यसको मुख्य कारण साँघुरो बाटो भएको उनीहरू बताउँछन्। सोही रुटका एक चालक भन्छन्, ‘गाडीले स्थानीय बासीलाई ठक्कर दिएसँगै गाडी चल्न छाडेको हो। उनीहरूले जानै दिँदैनन कसरी खरिबोट सम्म पुग्नु ?’
वनस्थलीका बासिन्दाले चलाउन नदिएपनि खरिबोटका बासिन्दाले भने गाडी आवश्यक परेको माग गरेका छन्। स्थानीयको असुविधालाई ख्यालमा राख्दै दुवै पक्षसँग सोमबार बैठक बसेको बालाजु यातायातका सञ्चालक मानन्धरले जानकारी दिए।
‘उक्त बैठक पछिको छलफलमा सकरात्मक निष्कर्ष निस्केको छ, अब केही दिनपछि गाडी चल्छ,’ उनले भने, ‘ अब सो रुटमा चल्ने गाडीहरूको नियमित अनुगमन गर्ने टोली बनाउने छौँ।’
वनस्थली देखि खरिबोटसम्मको बाटो साँघुरो र अप्ठ्यारो भएको मानन्धरको भनाइ छ। ‘बाटो साँघुरो र अप्ठ्यारो पनि छ, जसले गर्दा एउटा स्कूल बस गयो भने घण्टौँ जाम हुन्छ,’ उनले भने।
रुट परमिटले गर्दा नचलेको भनेर हल्ला चलिरहेको भएतापनि रुट परमिट भने पाइसकेको उनले बताए। अब स्थानीयसँग समन्वय गरेर अगाडि बढ्न लागेको उनको भनाइ छ।





