इथोपिया– इथोपियामा १२ घण्टाको अवधिमा ३५ करोड विरूवा रोपण गरिएको छ।
वातावरण संरक्षणमा यस अगाडि कायम भएका कृतिमानलाई उक्त अभियानले तोड्न सफल भएको दाबी गरिएको छ।

सो वृहत वृक्षरोपण अभियनाको नेतृत्व प्रधानमन्त्री अबी अहमदले गरिरहेका छन्। यस अभियानको मुख्य उदेश्य वन विनास र खडेरी प्रकोप मुलुकमा मौसम परिर्वतनको बाट हुने खतरा कम गर्नु रहेको अधिकारीहरूले बताएका छन्। अहमदको पर्यावरण बचाउ अभियान अन्र्तगत एक हजार ठाउँमा वृक्षारोपण भएको हो।

वृक्षारोपणलाई प्रभावकारी बनाउनको लागि सरकारी कार्यलयहरू पनि बन्द गरिएको थियो। संयुक्त राष्ट्र संघका अनुसार इथोपियामा वनको संख्या ३५ प्रतिशतले घटेको छ।
स्वयंसेवकहरूले लगाएको बिरुवाको गणनामा सरकारी अधिकारीहरूलाई खटाइएको थियो।
इथोपियाको नवीनता तथा प्रविधि मन्त्री गेटाहुँ मेकुरियाले ट्वीट गर्दै १२ घण्टाको अवधिमा ३५ करोड वृक्षरोपण गरिएको जानकारी दिएका हुन्। कुल चार अर्ब स्वदेशी रूख रोप्ने उद्देश्य रहेको जनाइएको छ।

रूखहरूको संरक्षण र हेरचाह गर्न आग्रह गर्दै सन्देश मूलक भिडियोहरू पनि प्रसारण भइरहेको बीबीसीले जनाएको छ। संयुक्त राष्ट्र संघ, अफ्रिकी संघ र इथियोपियाका विदेशी दूतावासहरूको पनि यस अभियानका सहभागिता रहेको थियो।





