नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

भरतपुर – चितवनको खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढेपछि यहाँका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन्।

भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा खेतमै रोपाइँ गरेकी छिन। नहरबाट पर्याप्त मात्रामा पानी नआएपछि सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएको सिंखडाले बताइन। उनले भनिन्, “नहरमा पानी छैन, आकाशको पानीको भर पर्नुपरेको छ।”

नारायणी लिफ्ट सिँचाइअन्तर्गतको खगेरी नहरको पानीले रोपाइँ गर्दै आएका यहाँका किसान नहरबाट पर्याप्त मात्रामा पानी नपाउँदा सुक्खा खेतमा धान रोप्न बाध्य भएका छन्। नहरमा पानीको मात्रा घट्दै गएकाले अहिले पश्चिम चितवनका अधिकांश खेतमा पानीको अभाव हुँदाहुँदै रोपाइँ चलिरहेको छ। धेरैजसो सुक्खा खेतमै रोपाइँ गरेर किसान आकाशे पानीको भरमा छन् । स्थानीय किसान नन्दलाल ढकालले भने, “सिमसिमे पानी नपर्दा बीउ मर्ने सम्भावना छ, बीउ मर्‍यो भने खेत बाँझै हुन्छ कि भन्ने डर भो ।” उनले पनि केही दिनअघि सुक्खा खेतमै रोपाइँ गरेका थिए। केही मात्रामा आकाशबाट पानी पर्दा ढकाललाई राहतको महसुस भयो । तर बर्खाको पानीको मात्रै भर पर्नु परे रोपेको धान जोगाउनै मुस्किल पर्ने उनले बताए।

पूर्वी चितवनको रत्ननगर टिकौलीमा रहेको खगेरी नहरले भरतपुर महानगरपालिकाभित्र पर्ने पश्चिम चितवनको पार्वतीपुर, गीतानगर, पटिहानी, जगतपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरसम्म सिँचाइ हुन्छ। मध्यबर्खामा समेत सो नहरमा पानीको खडेरी हुन थालेपछि पश्चिम क्षेत्रका किसान अहिले सुक्खा खेतमा रोपाइँ गर्न बाध्य भएका हुन्। पश्चिम चितवनको छ हजार बिघा खेतलाई सिँचाइ गर्ने नहरमा पानी नहुँदा रोपाइँ नै प्रभावित भएको छ । दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले जम्मा ३० सेन्टिमिटर मात्रै पानी रहेकाले यो समस्या आएको हो।

खगेरी नहरमा पानीको सङ्कट यो वर्षभन्दा अघि कहिल्यै भएको थिएन। “तीन/चार वर्षयता लगातार पानी घट्दै आएको छ। तर यो वर्ष त धेरै नै कम भयो”, बाँधस्थलमा कार्यरत खगेरी नहरको गेट अपरेटर नारायणबहादुर गुरुङले भने। उनी १५ वर्षदेखि यहाँ कार्यरत छन्। उनका अनुसार हिउँदमा एकदम सुक्खा हुँदा पनि नहरमा २० सेन्टिमिटर पानी हुन्थ्यो । अहिले मध्यबर्खामा जम्मा ३० सेन्टिमिटर पानी हुनु भनेको शून्य बराबरजस्तै भएको उनले बताए।

गेट अपरेटर गुरुङले भने, “पहिला–पहिला हिउँदमै १५० सेन्टिमिटर पानी हुने नहर हो यो । साउन लागेपछि २०० सेन्टिमिटर पुग्थ्यो । अनि रोपाइँ मज्जाले चालू हुन्थ्यो ।” विगतमा नहरमा भदौको तेस्रो सातासम्म दुई मिटरभन्दा कम पानी नहुने उनले बताए। उनलाई यस्तै अवस्था रहे आउँदो वर्ष नहर नै सुक्ने हो कि भन्ने चिन्ता छ ।

“घोलहरूमा कहीँकतै यसरी खेत रोपियो होला नभए नहरमा पानी नहुँदा छ हजार बिघामा यो पटक रोपाइँ नै शुरु हुनसकेको छैन । खेतमा पानी पु¥याउनै सकिँदैन”, खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङले भने। पूर्वी चितवनको खगेरी खोलालाई रत्ननगर– ९ टिकौली कपरखोरी नजिक बाँध बाँधेर नहर लगिएको छ । समितिका अध्यक्ष गुरुङका अनुसार नहर विसं २०२४ देखि सञ्चालनमा छ ।

खगेरी नहर प्रणाली नेपालकै सबैभन्दा सजिलो र सफल प्रणाली भएको समिति अध्यक्ष गुरुङले बताए। “तर खगेरी खोलाको मुख्य जलाधार क्षेत्रमा लगातार भएको वन विनासले नहरको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ”, उनले भने। खगेरी खोलाको मूल स्रोत कालीखोला, बुङखोला, थाङखोला हुन्। ती खोलाको सिरानमा लगातार जस्तो वन फडानी भएको अध्यक्ष गुरुङले बताए।

“खगेरीको मुख्य जलाधार क्षेत्रभित्रै पर्ने सगुनटोलको घना जङ्गल फाँडेर निकुञ्जको बस्ती पदमपुर स्थानान्तरण गरिएपछि पानीको सङ्कट पर्न थालेको हो”, उनले भने। तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले विसं २०१६ मा शिलान्यास गरेको खगेरी नहरमा वर्षेनी पानीको खडेरी लाग्न थालेको छ। यसको प्रत्यक्ष मारमा पश्चिम चितवनका किसान परेका छन्। वर्षमा एकपटक मात्र रोपाइँ गर्न सक्ने अवस्थामा रहेका यहाँका किसान बर्खाको बेला पनि रोपाइँ गर्न नपाएपछि थप समस्यामा परेका छन्। यस क्षेत्रमा अझै ६० प्रतिशत रोपाइँ हुनसकेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार