Friday, September 27, 2024

राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो

बर्दिवास -अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो ।

पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो खाल्डाखुल्डी बनाएको छ । राजमार्गमा सवारी चलाउन खाल्डाखुल्डी र छेउ कटानले समस्या बढेको चालक बताउँछन् ।

राजमार्ग मर्मतसम्भार गर्नेबेला गुणस्तरीय काम नगरिँदा र खाल्डाखुल्डी देखिनासाथै पुर्न नथालिँदा अहिले बग्रेल्ती खाल्डाखुल्डी बढेको बर्दिवासबाट सर्लाहीको लालबन्दीसम्म म्याजिक (सवारी साधन) चलाउने सोमन साशङ्करले बताए।

जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले पनि खाल्डाखुल्डी बढेसँगै दुर्घटना जोखिम बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा भएका १२१ सडक दुर्घटनामध्ये ७० प्रतिशत पूर्वपश्चिम राजमार्गमै भएको प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए। जारी साउनको दुई साता नहुँदै साना–ठूला गरी अहिलेसम्म १५ सवारी दुर्घटना सो राजमार्ग क्षेत्रमा भइसकेका छन् ।

राजमार्गको खाल्डाखुल्डी महोत्तरीमा मात्र नभएर धनुषाको ढल्केबरदेखि बाराको पथलैयासम्म नै रहेको जनकपुर–वीरगञ्ज रुटका बसचालक बताउँछन् । यद्यपि अहिले बाग्मती पारि (बाग्मती पश्चिम) रौतहटदेखि बारासम्म मर्मतसम्भारका काम थालिएका छन् । ढल्केबरदेखि बागमतीसम्म भने अझै काम नथालिँदा जोखिम मोलेरै सवारी चलाउनुपरेको बस यातायात व्यवसायी र चालकको भनाइ छ । यसैबीच सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अब वर्षा थामिएकाले राजमार्ग मर्मतसम्भारको काम थालिने जनाएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार