काठमाडौँ– अघिल्लो सातासम्म रोपाइँमा त्यति उत्साजनक प्रगती नभएपनि साउनको दोस्रो सातासम्म आईपुग्दा भने गत वर्षकै हाराहारीमा रोपाइँ भएको छ। विशेषगरी असारको अन्तिम साता परेको अविरल वर्षा र त्यसयता निरन्तर रुपमा भईरहेको वर्षाका कारण रोपाइँमा उत्साहजनक प्रगती भएको हो।
गतवर्षको तुलनामा यसवर्ष रोपाइँ औसतमा १ प्रतिशत मात्र फरक भएको छ। अघिल्लो वर्ष साउनको दोस्रो हप्तामा ८१ दशमलव ३१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तर यसवर्ष ८० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका सह–प्रवक्ता प्रदिप चन्द्र भट्टराईका अनुसार पछिल्लो एकहप्तामा पानी परिरहेकोले रोपाइँमा सहज भएको हो।
गत ६ गते ६३ दशमलव ७९ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा हिजो साउन १२ गते सम्म ८० प्रतिशत रोपाइँको भएको भट्टराइको भनाइ छ। ‘समयमा रोपाइँ भएन तर ढिलो भएतापनि पोहोरकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ,’ उनले भने। समयमा नै मनसुन सक्रिय नभई रोपाइँ ढिलो भइरहेको बेला सर्वत्र रुपमा उत्पादनमा ह्रास आउने चर्चा चलिरहेको छ। फलस्वरुपः धान उत्पादनमा पनि कमी हुन गई चामल आयातमा वृद्धि हुने आकंलन समेत भइरहेको छ।
यद्यपि, मन्त्रालयका सह प्रवक्ताले भने अहिले पोहोरकै हाराहारीमा रोपाइँको अवस्था आइसकेकोले धेरै असर नगर्ने दाबी गर्छन्। ‘समयमा रोपाइँ सम्पन्न हुन नसक्दा उत्पादनमा असर त हुन सक्छ, तर, यो हप्ताको रोपाइँ गतवर्षकै हाराहारीमा आएकोले त्यति धेरै असर नपर्ला जस्तो लाग्छ,’ सह–प्रवक्ता भट्टराईले भने।
प्रदेश अनुसार रोपाइँको अवस्था
प्रदेश अनुसार रोपाइँको अवस्था हेर्ने हो भने सबैभन्दा धेरै सुदुरपश्चिममा ९४ दशमलव १७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा कम रोपाइँ सम्पन्न भएको प्रदेश नम्बर १ रहेको मन्त्रालयले जनाएको छ।
गत वर्ष सुदुर पश्चिममा यहि समयमा सबैभन्दा धेरै ९७ प्रतिशत र प्रदेश नम्बर १ मा पनि सबैभन्दा कम ७७ दशमलव २४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
त्यसैगरी साउन १२ गतेसम्म प्रदेश २ मा ७४ दशमलव ५० प्रतिशत, प्रदेश ३ मा ७८ दशमलव ८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४ दशमलव ५६ प्रतिशत, प्रदेश ५ मा ८४ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेशमा भने ९२ दशमलव ४० प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ।
गतवर्ष यहि समयमा प्रदेश २ मा ९४ दशमलव ९४ प्रतिशत, प्रदेश ३ मा ८१ दशमलव ८४ प्रतिशत, गण्डकी प्रदेशमा ८० दशमलव ७५ प्रतिशत, प्रदेश ५ मा ८४ दशमलव ९२ प्रतिशत र कर्णाली प्रदेशमा ८४ दशमलव ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्था
भौगोलिक क्षेत्र अनुसार हालसम्मको रोपाइँको अवस्थालाई हेर्दा सबैभन्दा बढी उच्च–पहाडी भागमा ८४ दशमलव ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी सबैभन्दा कम भने तराई क्षेत्रमा ७९ दशमलव ७८ प्रतिशत रोपाइँ भएको छ। मध्य–पहाडी क्षेत्रमा भने ८० दशमलव ६६ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
यहि समयमा अघिल्लो वर्षको रोपाइँको अवस्थालाई हेर्दा सबैभन्दा बढी उच्च–पहाडी क्षेत्रमा ८४ दशमलव ७३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गतवर्ष यस समयमा सबैभन्दा कम मध्य–पहाडी क्षेत्रमा ७९ दशमलव ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तराई क्षेत्रमा भने ८१ दशमलव ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।





