बाढी तथा डुबानको समस्या समाधानका लागि एकीकृत कार्ययोजना: मन्त्री पुन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई–मधेसको बाढी र डुबानको समस्या समाधानका लागि ठोस् नीतिसहित स्पष्ट कार्ययोजना बनाएर लागू गर्ने बताएका छन्।

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतलगायतसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले तराई–मधेशको समस्या समाधानका लागि केन्द्र सरकारले विशेष चासो दिएको भन्दै एकीकृत कार्ययोजना जरुरी रहेको बताएका हुन् । मन्त्री पुनले तराई–मधेश डुबानको दीर्घकालीन समाधानका लागि ठोस् कार्ययोजना आवश्यक भएकाले सोहीअनुसार केन्द्र र प्रदेश सरकार एकाकार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले बाढी र डुबान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे । मन्त्री पुनले प्रदेश नं २ बाढी डुबानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताउए।

उनले तत्कालीन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्या समाधानका लागि एकीकृत योजना बनाउनुको विकल्प नभएको बताए । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलसहित मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री राउतले तराई–मधेशमा भइरहेको बाढी डुबानको विषयमा मन्त्री पुनसँग छलफल गरेका हुन्।

मुख्यमन्त्री राउतले मधेशमा हुने बाढी र डुबानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने बताए । उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । उनले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनामा मात्र गएको भन्दै मधेशमा रहेका साना नदीले पनि क्षति पु¥याउने गरेको जानकारी दिए ।

उनले ऊर्जामन्त्री पुनसँग मधेशमा बाढी र डुबानका कारण अर्बौको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानका लागि दीर्घकालीन योजना बनाइदिन आग्रह गरे । उनले भने, “हालसम्म टालटुलमर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन, ब्यापक रुपमा तटबन्ध निर्माण गर्नुपर्छ, दीर्घकालीन समाधान नखोज्ने हो भने समग्र भूभाग नै खतरामा पर्ने सम्भावना छ ।”

ताजा समाचार

सम्बन्धित समाचार