बेझाड– पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन्।
वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ। एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो।
त्यहाका करीब ९० घरपरिवारका स्थानीय उपभोक्ताले १५ लाख बराबरको श्रमदान गरेर आयोजना निर्माणको काम गरेको तामाखानी खानेपानी आयोजनाले जनाएको छ। गोरखा वयर फर ट्रस्ट नेपालले रु २५ लाख रकम सहयोग गरेपछि सजिलोसँग आयोजना सम्पन्न भएको बताइएको छ।
आयोजनाको पानीलाई अहिले गाउँमा दश स्थानमा धारा जडान गरेर वितरण गरिएको छ। पछि एक घर एक धारा जडान गर्ने योजना रहेको समितिले जनाएको छ।





