ललितपुर– इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ। यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ।
काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
काम गर्ने साइट खुला हुनुभन्दा पहिले नै ठेक्का लगाइएकाले लामो समय हुँदा पनि काम अघि बढ्न नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए। उनका अनुसार रुख, बिजुलीको पोललगायतका विभिन्न संरचना हटाउन सकिएको छैन।
यो सडक निर्माणको जिम्मेवारी तीन फरक निमाण कम्पनीलाई दिइएको थियो। डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा निर्माणको जिम्मेवारी लिएका थिए। तीन कम्पनीमध्ये दुई कम्पनीको सम्झौता अवधि सकिसकेको छ भने एउटा कम्पनीको आगामी पुससम्म रहेको आयोजनाले जनाएको छ।
आयोजनाले चार वर्ष पहिलेदेखि काठमाडौँ उपत्यकाका १० सडक र तीन सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांशको निर्माण सुस्त छ । चाबहिल–साँखु र त्रिपुरेश्वरबाट कलङ्कीदेखि नागढुङ्गासम्मको सडक भने काम अघि बढेको छ ।





