तनहुँ– तनहुँको भानु नगरपालिका–३ स्थित खहरे खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजना निर्माण पश्चात नौ टोलका करीब ३५० घरधुरी लाभान्वित हुने भएका छन् ।
उक्त वडाअन्र्तगत बारपिर्के, तीनकुने, सातबिसे, गैह्रीफाँट, मिलन, सिर्जना, खहरे र बुद्ध टोलका बासिन्दा खानेपानी आयोजनाबाट लाभान्वित हुने वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए । दोरदोर चिप्लेटीबाट खहरेसम्म करीब पाँच किलोमिटर टाढाबाट पानी ल्याई ट्याङकीमा जम्मा गरेर घरमा धारा पु¥याउने लक्ष्य छ ।
खानेपानीको मूल ट्याङकीबाट करीब १७ किलोमिटरसम्म खानेपानीको पाइप पु¥याइएको अध्यक्ष श्रेष्ठले बताए । “बढीमा एक महीनाभित्र पानी नियमित गर्ने लक्ष्य राखिएको छ ।” आयोजनाको लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन तनहुँमार्फत दुई करोड ५२ लाख विनियोजन गरिएको थियो । विसं २०७४ चैत्र महीनामा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि समयमा बजेट निकासा नहुँदा एक वर्षपछि धकेलिन पुगेको खहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापाले बताए।
त्यसैगरी सोही वडामा पर्ने दोरदोर खानेपानी योजनाको निर्माण कार्य शुरु गरिएको छ । धारापानीबाट २०० मिटरमाथि लिफ्टिङ प्रविधिमार्फत खानेपानी वितरण गर्न लागिएको हो । उक्त योजनाबाट त्यस क्षेत्रका लाकुरे भञ्ज्याङ, चण्डिथोक, रिडीपानीका ७० घरधुरीलाई लक्षित गरी योजना निर्माण शुरु गरेको वडाध्यक्ष दलनारायण श्रेष्ठले बताए।
जनसहभागितासहित रु एक करोड ६० लाखको लागतमा उक्त योजना सम्पन्न गर्ने गरी सम्झौता भएको उनले बताए। रासस





