Friday, September 27, 2024

महाकाली सिँचाइ आयोजना: १२ वर्षमा १३ किमी मात्रै नहर निर्माण

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत मूल नहर निर्माण सुरु भएको १२ वर्ष भयो । तर, अहिलेसम्म जम्मा १३.६९ किलोमिटर मात्रै नहर निर्माण भएको छ ।
महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । २ दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको बन्ने यो नहर १ सय ५२ किलोमिटर लामो हुनेछ ।

१६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३÷६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर, आर्थिक वर्ष ०७५÷७६ सम्ममा १३.६९ किलोमिटर मात्र नहर निर्माण भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ५ सय मिटर मात्र नहर निर्माण भएको छ । अब आयोजनाको काम सक्ने अवधि ४ वर्ष मात्रै छ ।

आयोजनलाई ४ वर्षमा १ सय ३८.३१ किलोमिटर नहर निर्माण गर्नुपर्ने बाध्यता छ । तर, सरकारले आयोजनका लागि प्रयाप्त बजेट विनियोजन नर्गदा र वन मन्त्रालयबाट नहर क्षेत्रमा पर्ने रुख कटानको आदेश दिन ढिलाई गर्दा योजनको काम लम्बिने सम्भावना रहेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहका अनुसार बजेट अभाव, मुअब्जा वितरणमा ढिलाई र नहरमा पर्ने रुख कटानीका लागि वन मन्त्रालयले आदेश नदिदा नहर निर्माणमा ढिलाई भएको हो ।
‘सरकारले आयोजनाका लागि आर्थिक वर्षको सुरुमा थोरै बजेट पठाउँछ, अन्तिममा बजेट पठाउने परीपाटीले पनि आयोजनाको काममा ढिलाई हुन्छ, वन मन्त्रालयले पनि रुख कटानीको लागि आदेश दिन ढिलाई ग¥यो,’ उनले भने,‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका रुख कटानीको आदेश कही दिन अघिमात्रै दिएको छ, अझै राष्ट्रिय र सामुदायिक वनका रुख कटानीको आदेश दिएको छैन् ।’

आयोजनको अहिलेसम्म भौतिक प्रगति ५७.३७ प्रतिशत र वित्तिय प्रगति ९२.६५ प्रतिशत भएको सूचना शाहले बताए । ‘आयोजना निर्माणले यो आर्थिक वर्षदेखि लिन्छ, मुअब्जा वितरणको कार्य पनि अन्तिम चरणमा रहेको छ, रुख कटानीको आदेश पनि आएको छ, सरकारले प्रयाप्त बजेट दियो भने काम छिटो हुन्छ,’ उनले भने ।

नहर निर्माणको पहिलो ठेक्का कुमार राजेन्द्र आषिश जेभी, कुमार नेपाल आर्दश केएम जेभी र लुम्बीनी राजेन्द्र डाँफे जेभीले पाएको थियो । उनिहरुले १० वर्षमा १३ किलोमिटर नहर निर्माण गरेका थिए । उक्त नहर निर्माणमा कुल २ अर्ब, ४१ करोड, ११ लाख, ३८ हजार खर्च भएको थियो ।

आयोजनाले २०७४÷१०÷१५ गते मुसेपानीदेखि शुक्लाफाँटा नगरपालिका–७ टोटी फुलेलीसम्म १६ किलोमिटर नहर निर्माणका लागि तीन निर्माण कम्पनीसंग दोस्रो ठेक्का सम्झौता भएको थियो । तुण्डी रसुवा लामा जेभी ६७ करोड, ५९ लाख, १० हजार २ सय ६७ रुपैयाँ, लुम्बीनी आशिष जेभी ६७ करोड, १८ लाख, ९३ हजार ५ सय ८७ रुपैयाँ र कुमार स्वच्छन्द शर्मा जेभीसंग ६६ करोड, ६१ लाख, ६० हजार, १ सय ७७ रुपैयाँमा १६ किलोमिटर नहर निर्माणको सम्झौता भएको छ ।
अहिले तुण्डी रसुवा लामा जेभी, लुम्बीनी आशिष जेभी र कुमार स्वच्छन्द शर्मा जेभीले तीन प्याकेजमा नहर निर्माण गरिरहेका छन् । हालसम्म १३.६९ किलोमिटर नहर निर्माणमा ३ अर्ब २३ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ ।
शाखा नहर निर्माण गर्ने तयारी

चालु आर्थिक वर्षमा आयोजना कार्यालयले महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत शाखा नहर र प्रशाखा नहर निर्माण गर्ने तयारी भइरहेको छ । आयोजना अन्तर्गत १ सय ७२ किलोमिटर शाखा नहर र १ हजार २६ किलोमिटर प्रशाखा नहर निर्माण हुनेछ । महाकाली सन्धी अनुसार भारतले निर्माण गर्नुपर्ने मुल नहरको कार्य सुरु हुने तयारी भइरहेकाले आयोजनाले पनि शाखा र प्रशाखा निर्माण गर्ने तयारी गरेको सूचना अधिकारी शाहले बताए ।

उनका अनुसार महाकाली सन्धीमा भारतले टनकपुर बाँधदेखि नेपालको भीमदत्त नगरपालिका–९ ब्रम्हदेबसम्म १२ सय मिटर मुल नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतीय नेसनल हाईड्रोपावर कर्पोरेसन लिमिटेड (एनएचपीसी) ले नेपाल–भारत जोड्ने नहर निर्माणका लागि प्रक्रिया अगाडी बढाएको उनले बताए । ‘एनएचपीसीले नहर निर्माणका लागि टेण्डर गरिसकेको छ, यो वर्ष निर्माण सुरु गर्ने भारतीय पक्षले जनाएको छ, अबको २ वर्षमा भारतले निर्माण गरिसक्छ होला,’ उनले भने,‘त्यहाँबाट आउने पानी व्यवस्थापनका लागि हामीले पनि यो वर्ष शाखा र प्रशाखा नहर निर्माण गर्ने तयारी गरेका छौं ।
साढे ३३ हजार हेक्टरमा सिँचाइ हुने
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहर निर्माण भएपछि ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । महाकाली सन्धिअनुसार टनकपुरबाट १ हजार क्युसेक पानी नेपालले पाउने प्रावधानअनुसार ३३ हजार हेक्टर जमिनमा सिँचाइ पुु¥याउने आयोजनाको लक्ष्य रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताए ।

उनका अनुसार आयोजना सम्पन्न भएपछि ब्रह्मदेव क्षेत्रमा २ हजार ९ सय हेक्टर, दोधाराचाँदनीको ३ हजार ५ सय १० हेक्टर, त्रिभुवन बस्तीमा १९ हजार ६ सय २० हेक्टर र मालाखेती क्षेत्रमा ६ हजार ४ सय ९० हेक्टरमा सिँचाइ गर्न सकिनेछ । अहिले नहर नभएका कारण कैलाली, कञ्चनपुर अधिंकास कृषक आकासेपानी, डुबेल, नदिखोला र नालाबाट पानी ल्याएर सिँचाइ गर्न बाध्य छन् । नहर निर्माणसंगै कैलाली कञ्चनपुरका हजारौं कृषक सिँचाइ सुविधा पुग्नेछ । जसका कारण उजाडभूमि हराभरा हुने विश्वास कृषकले लिएका छन् । महाकाली सन्धी अनुसार टनकपुर बाँधबाट सुक्खायाममा नेपालले ३ सय क्यूसेक र वर्षातमा १ हजार क्यूसेक पानी पाउने सहमती नेपाल र भारतबिच भएको छ ।

अब आयोजनाले गति लिने

महाकाली सिँचाइ तेस्रो चरणले गतिलिने आयोजना कार्यालयले जनाएको छ । भारत सरकारले महाकाली नदीको एकिकृत विकास सम्बन्धीको (सन्धी सम्झौता) कार्यान्वयन गर्ने देखिएपछि महाकाली सिँचाई तेस्रो चरणले गतिलिने आशा पलाएको आयोजनका कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताए । ‘झण्डै २ दशकपछि भारत सन्धी अनुसार भारतले निर्माण गर्नुपर्ने नहर निर्माणको प्रक्रिया अगाडी बढाएको छ,’उनले भने,‘यसअघि भारतले सम्झौता कार्यान्वयन गर्दैन कि भन्ने थियो, भारतले काम अगाडी बढाएकाले नेपाल सरकारले पनि अब आयोजनका लागि प्रयाप्त बजेट विनियोजन गर्छ ।’ उनले वन मन्त्रालयबाट शुक्लाफाँटा राष्टिय निकञ्जमा नहर बनाउनका लागि सहमति दिएको बताए । ‘निकुञ्जमा रुख कटानी र नहर बनाउनका लागि आदेश नपाउँदा निर्माणमा ढिलाई भइरहेको थियो,’ सूचना अधिकारी शाहले भने,‘मुअब्जा वितरणको कार्य पनि अन्तिम चरणमा छ, अब आयोजनाले गति लिन्छ ।’

सन्धि अनुसार पानी दिनुपर्छ ः मेयर सुनार

भारत सरकारले महाकाली सन्धि अनुसार दोधार–चाँदनी क्षेत्रलाई पानी दिनुपर्ने महाकाली नगरपालिकाका नगर प्रमुख बीरबहादुर सुनार बताउँछन् । ‘महाकाली सन्धि अनुसार हामीले पाउनुपर्ने सिँचाइ सुविधा दिनुपर्छ, यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले पहल गरिदिनुपर्छ,’ उनले भने, ‘सन्धि सम्झौता भएको लामो समय भयो, सरकारले पहल नर्गदा हामी पानी पाउन सकेका छैनौं ।’ माहाकाली नगरपालिका अधिंकास कृषकले आकासेपानी र डुबेलबाट सिँचाइ गर्ने गरेको उनले बताए । ‘महाकाली सन्धि अनुसार पाउनुपर्ने पाए माहाकाली नगरबासीको लागि सिँचाइ गर्न पानी प्रयाप्त हुन्छ, स्थानीय सरकारले पहले गरेर पानी ल्याउन असम्भव छ,’ उनले भने,‘केन्द्र सरकार र प्रदेश सरकारले चासो दिएर पहल गर्नुपर्छ,’ उनले भने ।

‘त्रिभुवन बस्तीसम्म पानी पुग्नेमा विश्वास छैन्’
महाकाली नदीको पानी त्रिभुवन बस्तीमा पुग्ने विश्वस्त नभएको पुर्नवास नगरपालिकाका प्रमुख जिवनराज थापाले बताए । ‘हामीले महाकालीको पानी यहाँसम्म पुग्छ भन्नेमा विश्वास गरेका छैनौं, पुगेपनि वर्षै लाग्न सक्छ, निर्माण सुस्त छ,’ उनले भने । उनले सिँचाइ सुविधाका लागि विद्युतीय सिँचाइ प्रणालीलाई प्राथमिकता दिएको बताए । ‘नगरपालिकाले विद्युतीय सिँचाइलाई प्राथमिकतामा राखेर सिँचाइ सुविधा नभएका गाउँमा पानी पु¥याएका छौं,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार