Friday, September 27, 2024

कटान बढेसँगै कर्णाली पुल जोखिममा

लम्की– कैलाली र बर्दियालाई जोड्ने हुलाकी राजमार्गको टीकापुर–८ स्थित कर्णाली नदीमा रहेको पुल जोखिममा रहेको छ । नदी कटानले पुल संरक्षणका लागि बनाएको तटबन्धसमेत भासिँदै जान थालेपछि पुल भत्किने जोखिम बढेको हो ।

सुदूरपश्चिम प्रदेश र प्रदेश ५ लाई हुलाकी राजमार्गअन्तर्गत जोड्ने कर्णाली पुल नदी कटानले भत्किने उच्च जोखिममा छ । वर्षात्को समयमा कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुल भत्कने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुलको पूर्वपट्टि बर्दियाको राजापुर नगरपालिकातर्फ पानीको धार बगेकाले पुल जोखिममा परेको हो । पुलको पूर्वतर्फको पिलरसँगै अहिले तारजाली भाँसिदै गएको छ ।

पुलको पूर्वतर्फ अहिले ठूलो भ्वाङ परेको छ । भ्वाङ टाल्ने काम भइरहेको भएपनि पानीले पुलको किनारमा रहेको तारजाली बगाउँदै र भासिँदै गएपछि भ्वाङ परेकाले पुल उच्च जोखिममा रहेको टीकापुर–८ सूर्यपुरका धनसिंह साउँदले बताए। “सुदूरपश्चिम र प्रदेश ५ जोड्ने पुलको मर्मत समयमा नगरे पूर्णरुपमा पुलबाट आवतजावत बन्द हुने अवस्था आउनेछ, साउँद भन्छन्, “पुल समयमै मर्मत नगरिए हजारौँ सवारी साधन हिँड्ने यो बाटोमा आवतजावतमा समस्या हुनेछ ।”

पाँच सय ३१ मिटर लामो पुलको उक्त किनारामा वर्षेनी तारजाली भासिँदै गएको छ । वर्षात्को समयमा नदीमा पानीको बहाव बढेलगत्तै तारजाली भासिने गरेको टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का अध्यक्ष दीर्घ ठकुल्ला बताउँछन् । “विगत तीन वर्षदेखि पुलको सोही स्थानमा तारजाली भासिँदै गएको छ, मर्मतको कार्य भइरहेको भए पनि दीर्घकालीन समाधान भएको छैन”, ठकुल्ला भन्छन्, “अहिले पुल भत्कने उच्च जोखिममा रहेकाले पुल निर्माण कम्पनीलाई मर्मतका लागि पहल गरिरहेका छौँ ।”

पुल जोगाउनका लागि पुलको लम्बाइमा एक खण्ड (स्पान) थप गरेमात्र समस्या समाधान हुने भएकाले कम्पनीसँग समन्वय भइरहेको ठकुल्लाले बताए । रसुवा कन्ट्रक्सनले विसं २०७१ मा निर्माण सम्पन्न गरेको पुल भासिँदै जाँदा कम्पनीले वर्षेनी वर्षात्मा मर्मत भन्दै तारजाली हाल्दै आएको छ ।

वर्षेनी पुल छेउमा तारजाली भासिँदै जाँदा मर्मतमा धेरै रकम खर्चिएकाले अब नदीको अवस्था हेरी पुलमा खण्ड थप्न आवश्यक रहेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ । निर्माण कम्पनीले भने खण्ड थप्न नसकिने भन्दै वर्षेनी मर्मत गर्दै आएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार