निर्माण सामग्री सहज उपलब्ध नहुँदा पूर्वाधार निर्माणमा बाधा

काठमाडौँ– ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको खरीद र ढुवानी सहज नहुँदा काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माणमा बाधा पुगेको छ।

एकातिर काठमाडौँ उपत्यकामा मालवाहक सवारीसाधन दिउँसो ढुवानी गर्न नपाउने नियम छ भने अर्कातिर स्थानीय तहले ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी उद्योगलाई सजिलै सञ्चालन अनुमति दिएका छैनन्।

सहजरुपमा निर्माण सामग्री उपलब्ध नहुनु काठमाडौँ उपत्यकामा अहिले विस्तारका क्रममा रहेका सडकमा निर्माणको काम अघि बढाउन समस्याका रुपमा रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए। ढुङ्गा, बालुवालगायतका निर्माण सामग्रीसम्बन्धी उद्योग सञ्चालनका लागि अनुमति दिने अधिकार स्थानीय तहमा गएपछि निर्माण सामग्री पाउन गाह्रो भएको उनको भनाइ छ।

कतिपय स्थानमा पालिका र वडा दुवैले कर उठाउने गरेका छन्। उपत्यकामा दिउँसो ट्रकलगायतका मालवाहक सामग्री बोक्ने सवारीसाधन चल्न नपाउने नियमका कारण रातमा मात्रै ढुवानी हुने गरेको छ । रातमा चालकलाई काम लगाउँदा लगानी बढ्ने निर्माण व्यवसायीले बताउने गरेका छन्।

काठमाडौँ उपत्यकामा झण्डै चार वर्ष पहिलेदेखि ११ वटा सडक विस्तारको काम शुरु भएको थियो। तीमध्ये त्रिपुरेश्वर–नागढुङ्गा र चाबहिल–साँखुमा मात्रै काम केही अघि बढेको छ। अधिकांश ठाउँमा काम सुस्त छ । अधिकांश ठाउँमा सडक छेउका घर भत्काउन नदिँदा काम अघि नबढेको र बाँकी ठाउँमा निर्माण सामग्रीको अभाव रहेको आयोजनाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार