गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।
सोमबारदेखि परेको अविरल वर्षाका कारण सत्यवती गाउँपालिका वडा नं २ र ३ ठूलोलुम्पेक र वडा नं ४ लिम्घा बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। पहिरोमा परी २ जना घाइते भएका छन्। घाइते भएका दुई बालिकालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। उनीहरूलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । सत्यवती–४ भिरकुनामा पहिरोमा घर पुरिँदा मृत्यु हुनेमा २५ वर्षीया पम्फा विक, २५ वर्षीया निर्मला विक, ७ वर्षीया सिमनी विक, ६० वर्षीया छलि विक, १२ वर्षीया अन्जली विक र १० वर्षीय हेमन्त विक रहेका छन्।
यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा २५ वर्षीया लिकुमारी तरामु, दपर्ण तरामु, दिलकुमारी तरामु र दर्शन तरामुको मृत्यु भएको थियो।
पहिरोका कारण २ सय परिवार घरबारविहीन भएका र उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको प्रहरी उपरीक्षक दिपक बस्नेतले जानकारी दिए।
पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । बुधबार साँझ हेलिकप्टरबाट २० क्वीन्टल चालम, दुई क्वीन्टल दाल, एक क्वीन्टल चिउरा तथा चाउचाउसमेत वितरण गरिएको थियो। उनीहरुलाई अस्थायी वासस्थानका लागि ६० वटा त्रिपालसमेत वितरण गरिएको छ।
पहिरोका कारण सडकहरू पनि अवरुद्ध भएका छन्। बस्नेतका अनुसार सडक खुलाउने प्रयास जारी छ।
राहत, उद्धार र खोजी कार्यको लागि सबै सुरक्षा निकायहरू खटिएका छन्। त्यसैगरी पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन्।





